Ads

सहमतिको सम्भावना न्यून, मतदान भोलि


काठमाडाैँ । बुटवलमा जारी नेकपा एमाले लुम्बिनीको प्रथम अधिवेशन नयाँ नेतृत्व चयनमा गएर अड्किएको छ । अध्यक्ष पदमा पाल्पाका राधाकृष्ण कँडेल र प्युठानका हरि रिजाल दाबेदार छन् ।

कंडेल एक वर्षअघि गठन भएको प्रदेश अध्यक्ष हुन् भने रिजाल पूर्वप्रदेश मन्त्री एवं एमाले केन्द्रीय सदस्य हुन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन समारोह र आइतबार बिहान बन्द सत्रमा पनि सहमतिबाट नेतृत्व चयन गर्न आग्रह गरेका थिए ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले बन्द सत्रलाई सम्बोधन गर्दै सहमति गर्न आग्रह गरेको भए पनि कँडेल र रिजालले एक आपसमा सहमति गर्न नमानेपछि निर्वाचन सम्भावना देखिएको हो ।

एमाले पोलिटब्यूरो सदस्य सूर्य थापाले तीन बजेसम्म सहमतिको प्रयास गरिने त्यसछि निर्वाचनको प्रक्रिया अघि बढने बताए । ‘प्रतिवेदनहरू पारित भए अब खाना खाने तयारीमा प्रतिनिधिहरू हुनुहुन्छ’ थापाले भने, ‘तीन बजेसम्म सहमति र निर्वाचनका प्रक्रिया सँगसँगै अघि बढ्छन । त्यतिबेलासम्म पनि सहमति नभए निर्वाचनबाट नेतृत्व छान्ने प्रक्रियामा जान्छौं ।’

मतदाता अन्तिम नामावली सार्वजनिक भइसकेको छ । तर, मापदण्ड अझै बनाइएको छैन ।
अध्यक्षका आकांक्षीहरू एक आपसमा सहमत नभएपछि निर्वाचनमा जाने अवस्था आएको र दुवैले प्यानल नै बनाएर निर्वाचनमा जाने संकेत देखिएको प्रतिनिधिहरू बताउँछन् । लुम्बिनी प्रदेशको यो अधिवेशनमा एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको शक्तिको लडाइँको रुपमा लिँदा अझ पेचिलो बन्दै गएको छ ।
पौडेलको साथ कँडेललाई छ भने, पोखरेलको साथ रिजाललाई छ । योसँगै पार्टीका केन्द्रिय पदाधिकारी र सदस्यहरू समेत दुई भागमा विभाजित भएको देखिन्छ ।
महाधिवेशन प्रतिनिधिहरू समेत नेताहरू जस्तै दुई भागमा विभाजित देखिएका छन् । दुवै टिमले समूह/समूहमा छलफल गर्न थालेका छन् ।
अधिवेशनले ५ जना पदाधिकारीसहित २०५ सदस्यीय प्रदेश कमिटी निर्वाचित गर्नेछ ।

Ads

सम्बन्धित पोष्टहरू