काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीले अब कोही पनि भूमिहीन नेपाली नागरिकले भूमि अधिकारबाट वञ्चित हुनु नपर्ने बताएकी छन् ।
सोमबार नवलपरासी (पश्चिम)का भूमिहीन सुकुम्बासीहरूलाई जग्गाधनी लालपुर्जा प्रदान गर्दै उनले भनिन्, ‘सरकारले भूमिहीन दलित तथा सुकुम्बासीहरूलाई जग्गाधनी लालपुर्जा वितरण गरिरहेको गर्दै आएको छ । संविधानले दिएको अधिकार अनुसार अब कोही पनि नेपाली नागरिक भूमिहीन हुनु पर्दैन । मेरो कार्यकाल भित्रै भूमिहीनहरूको समस्या समाधान गर्ने गरी काम गरिरहेको छु ।’
मन्त्री चौधरीले सरावल गाउँपालिका वडा नं ३ का २५ भूमिहीन सुकुम्बासी परिवारलाई जग्गाधनी लालपुर्जा प्रदान गरिन् । लामो समयको प्रतीक्षा पछि नवलपरासी (पश्चिम)को सराबल गाउँपालिकाका २५ परिवारले पुर्जा पाएका हुन् । उनले देशमा हजारौँ भूमिहीन, दलित तथा सुकुम्बासीहरू रहेकाले सुकुम्बासीका समस्या समाधान गर्न तीव्र गतिमा अभियान नै चलाउने बताइन् ।
‘यो देशमा हजारौँ भूमिहीन, दलित तथा सुकुम्वासीहरू हुनुहुन्छ, उहाँहरूको पीडा र मर्का मलाई राम्रैसँग थाहा छ । आज उहाँहरूलाई जग्गाधनी लालपुर्जा दिने ठाउँमा पुगेको छु’, पुर्जा हस्तान्तरण गर्दै मन्त्री चौधरीले भनिन्, ‘मैले नेतृत्व सम्हाले देखि देशका बिभिन्न स्थानका भूमिहीनहरूलाई जमिन उपलब्ध गराउनका निम्ति दुर्तगतिमा काम भइरहेको छ । जसको नतिजा आजदेखि देखिँदैछ ।
आजदेखि यस पालिकामा पनि औपचारिक रूपमा हामीले भूमिहीनलाई पुर्जा वितरण सुरु गयौँ, यस अभियानले देशभर निरन्तरता पाउने नै छ ।’भूमिहीन दलित सुकुम्बासीहरूमा भूमिमाथिको पहुँच पुर्याउने उद्देश्यका साथ तीनतहका सरकारको सहकार्यमा कार्यक्रम अघि बढिरहेको उनले बताइन् ।
प्रतिक्रिया दिनुहोस्