रुपन्देही । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल निर्वाचित भएका छन् । प्रतिस्पर्धी हरिप्रसाद रिजाललाई हराउँदै कँडेल अध्यक्षमा विजयी भएका हुन् । विजयी कँडेलले ४७९ मत ल्याए । उनका प्रतिस्प्रधी रिजालले ४७७ मत ल्याए । रिजालभन्दा २ मत बढी ल्याएर कँडेल अध्यक्षमा निर्वाचित भए ।
अध्यक्षमा विजयी भएका कँडेल एमाले उपाध्यक्ष विष्णु पौडेल निकट हुन् । पराजित रिजाल महासचिव शंकर पोखरेल निकट हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले लुम्बिनी प्रदेश कमिटीको नेतृत्व सहमतिका आधारमा चयन गर्न जोड दिए पनि पौडेल र पोखरेल गुटबीच ‘प्रतिष्ठाको लडाइँ’ले मतदानमा गएको लुम्बिनीका एमाले नेताहरुले बताउँदै आएका छन्।
उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ निर्वाचित भएका छन्। उनले ४५५ मत ल्याए । श्रेष्ठका प्रतिस्पर्धी विश्वराज बरालले ३०६ मत ल्याए । उपसचिव पुरुषमा ४२८ मत ल्याएर रोल्पाका पूर्ण बुढा मगर विजयी भएका छन् । उनका प्रतिस्पर्धी बाँकेका दुर्गाप्रसाद थारु चौधरीले ३९३ मत ल्याए । बुढामगर भने अध्यक्षमा पराजित रिजाल प्यानलका हुन् ।
उपचसिव महिलामा बर्दियाकी लिला राना मगर ३५२ मत ल्याएर विजयी भएकी छन् । उनका प्रतिस्पर्धी बाँकेकी बस्नती अधिकारीले ३५१ र बाँकेकै आरती पौडेलले २२१ मत ल्याइन् । सचिवमा भने लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भइसकेका छन्। सचिवसहित भूगोलतर्फ १२मध्ये ८ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका हुन् । भूगोलतर्फ बाँके, दाङ, गुल्मी र रुपन्देही गरी ४ जिल्ला, लेखा कमिटी र प्रदेश खुलातर्फ मतदान भएको थियो ।
प्रतिक्रिया दिनुहोस्