Ads

बागमती प्रदेशसभाको बैठक : चारवटा विधेयक प्रस्तुत


मकवानपुर । बागमती प्रदेशसभाको आइतबार बसेको पहिलो बैठकमा बागमती प्रदेश, सामाजिक विकासमन्त्री कुमारी मोक्तानका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक प्रस्तुत गरेका थिए । यसैगरी, उक्त बैठकमा स्वास्थ्यमन्त्री उत्तम जोशीले प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरे ।

यस्तै, बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र कृषि तथा पशुपन्छी विकासमन्त्री डा राजेन्द्रमान श्रेष्ठका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकमाथि विचार गरियोस् भनी प्रस्ताव टेबुल गरे ।

उक्त बैठकको शून्य समयमा बोल्ने सदस्यहरुले राष्ट्रिय सरोकारको विषयसँग सम्बन्धित पक्षलाई सरकारले कार्यान्वयन गर्दै लैजानुपर्ने धारणाहरु व्यक्त गरेका थिए । सोही बैठकमा सहभागी सदस्यहरुले काठमाडौँ उपत्यकाका सडकहरूमा खाल्टाखुल्टीका कारणबाट सडक दुर्घटना बढ्दै गएकामा चिन्ता व्यक्त गर्दै प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रालयले भौतिक पूर्वाधार मन्त्रालयसँग समन्वय गरेर सडकको स्तरोन्नति गर्न आग्रह गरे । यस्तै, बैठकमा उनीहरूले धार्मिक सहिष्णुता र समाजलाई एकताबद्ध राख्न र नेपाली–नेपालीबीच सद्भाव र एकतालाई जोड्ने कार्यमा प्रदेश सरकार र प्रदेशसभाले चनाखो भएर ध्यान पुर्याउनुपर्नेमा जोड दिए ।

सिन्धुली, सिन्धुपाल्चोक र मकवानपुर जिल्लामा बाढीपहिराबाट पीडित परिवारलाई राहत उपलब्ध गराउन र उनीहरूलाई बसोबास तथा पिउने पानीलगायत स्वास्थ्योपचार क्षेत्रलाई सहजीकरण गरी सेवासुविधा पुर्याउन उनीहरूले माग गरे । बाढीपहिराेबाट पीडित परिवारलाई पुनर्स्थापन गर्नेतर्फ प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत दैविक प्रकोप उद्धार समितिलाई सक्रिय बनाउनुपर्ने र तत्काल उनीहरूलाई बसोबास गर्न लत्ताकपडा, भाँडाकुँडालगायत आवश्यकीय सामग्री उपलब्ध गर्न/गराउन आग्रह गरे ।

बैठक बस्नुअघि सत्तापक्षका सदस्यहरु र प्रतिपक्ष दलहरुबीच बसेको सर्वदलीय बैठकमा सहमति भए अनुसार प्रदेशसभाको बैठकलाई नियमित सञ्चालन गर्ने र सरकार र प्रतिपक्षबीच भएको सहमतिलाई भदौ २९ गते बस्ने अर्को बैठकमा प्रगतिको समीक्षा गर्ने भएको नेकपा (एमाले) संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपा संसदीय दलका नेता उद्वव थापाले बताए ।

Ads

सम्बन्धित पोष्टहरू