काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख एवं नेकपा ९एमाले० का उपाध्यक्ष सुवास नेम्वाङको यही भदौ २६ गते भएको असामयिक निधनले मुलुकले लोकतान्त्रिक गणतन्त्रलाई हृदयदेखिनै आत्मसात गरेको एउटा असल नेता गुमाएको बताए ।
राष्ट्रपति पौडेलले आज एक समवेदना सन्देश स्व नेम्वाङका परिवारजनलाई पठाउँदै नेपालको राजनीति र कानूनी क्षेत्रमा उत्तिकै दक्खल राख्नुहुने उनी खासगरी राष्ट्रिय राजनीतिका सङ्कटपूर्ण घडीहरूमा समन्वयकारी भूमिका निर्वाह गर्न हरदम तयार हुने नेता भएको उल्लेख गरेका छन् ।
“जुनसुकै पद र भूमिकामा रहँदा पनि समन्वयकारी, स्वच्छ र इमानदार छविका नेम्वाङले खासगरी सभामुख र संविधानसभाको अध्यक्षका रूपमा नेपाली जनताले लामो समयदेखि प्रतीक्षा गरेको संविधानसभाबाटै संविधान बनाउने र नेपालको संविधान जारी गर्ने बेलामा निर्वाह गरेको भूमिका नेपाल र नेपाली जनताले कहिल्यै बिर्सने छैनन् । नेपाली राजनीतिका कैयन उतारचढावका क्षणमा मैले नेम्वाङलाई शालीन र समन्वयकारी नेताका रूपमा मात्र होइन अन्य नेताहरूलाई सही र सत्मार्गमा डो¥याउन सक्ने एउटा असल नेताको छविको रूपमा पाएको थिएँ”, समवेदना सन्देशमा भनिएको छ ।
राष्ट्रपति पौडेलले लोकतन्त्र स्थापनाका सङ्घर्षहरू, संविधान निर्माण र संसदीय क्षेत्रमा सँगसँगै काम गर्ने सन्दर्भमा उनीसँग भएका सहकार्यहरू आफ्नो स्मृतिमा सदैव ताजै रहने उल्लेख गरे । उनीले नेम्वाङको आत्माको चिरशान्तिको कामनासहित श्रद्धाञ्जली प्रकट गर्दै शोक सन्तप्त परिवारजन, गणतन्त्र पक्षधर, नेकपा ९एमाले० पार्टी र शुभेच्छुकहरूमा समवेदना प्रकट गर्नुभएको छ । राष्ट्रपति पौडेलेको सो समवेदना सन्देश लिएर उनीका सुपुत्रीद्वय शर्मिला र अवज्ञा पौडेल, विज्ञ र सल्लाहकार स्व नेम्वाङको घर पुगेका थिए भने सन्देश परिवारजनलाई हस्तान्तरण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्