Ads

एमालेले आज सबै प्रदेशमा नेम्वाङको स्मृतिमा विचार गोष्ठी गर्ने


काठमाडौँ ।  नेकपा एमालेले आज दिवंगत संविधान सभा अध्यक्ष सुवास नेम्वाङको स्मृतिमा सातवटै प्रदेशमा विचार गोष्ठी आयोजना गर्दैछ । एमालेले संविधान दिवसको पूर्वसन्ध्यामा ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयक विचार गोष्ठीको आयोजना गर्न लागेको हो । शनिबार बसेको पार्टीको कार्यालय बैठकले गोष्ठी गर्ने निर्णय गर्दै सातै प्रदेशमा जिम्मेवारी तोकेको थियो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालय तुलसीलाल स्मृति प्रतिष्ठानको गोष्ठीलाई सम्बोधन गर्नेछन् । बाँकी ६ प्रदेशमा भने उपाध्यक्षहरूलाई खटाइएको छ। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई मधेस प्रदेशको जिम्मा दिइएको छ । कोशी प्रदेशमा इलाममै गोष्ठी हुने एमालेले बताएको छ । नेम्वाङ इलाम–२ बाट प्रतिनिधि सभामा निर्वाचित थिए । इलाममा रामबहादुर थापा ‘बादल’ प्रमुख वक्ताका रूपमा जाँदैछन् ।

लुम्बिनी प्रदेशमा उपाध्यक्ष युवराज ज्ञवाली, गण्डकी प्रदेशमा अष्टलक्ष्मी शाक्य र सुदूरपश्चिम प्रदेशमा विष्णुप्रसाद पौडेललाई प्रमुख वक्ता तोकिएको छ । कर्णाली प्रदेशमा सुरेन्द्र पाण्डे प्रमुख वक्ताका रूपमा जाँदैछन् । नेम्वाङको अघिल्लो सोमबार राति हृदयघातका कारण निधन भएको थियो ।  नेम्वाङ एमाले उपाध्यक्षसमेत थिए ।

Ads

सम्बन्धित पोष्टहरू