जानकी (बाँके) । “मैले १२ वर्ष उमेरदेखि दमाह, मादल र ट्याम्का बनाउन सुरु गरेको हुँ”, बाँके कोहलपुर–१३ भरैयाका ५७ वर्षीय पस्तोके बादीले भने, “मेरा लागि आजसम्म पनि जीविकोपार्जनका लागि यही माध्यम बनेको छ ।” उनी सोमबार बिहान पनि घरको चोटामा नजिकैको मन्दिरको दमाहा मर्मत गर्दै थिए । दमाहा मर्मतपछि ट्याम्का र मादल पनि साथमै राख्नुभएको थियो । पञ्चेबाजा अन्तर्गत पर्ने दमाहा, ट्याम्का र मादल बनाउन उहाँले सानैदेखि सिकेको पेसा हो ।
“बुबा सानैमा बिते । उनी बितेपछि काका र दाईले यो सीप मलाई सिकाउनुभएको हो”, उनले भन, “विेद्यालयमा गएर नपढे पनि सीपले जीवन धानेको छ ।” साढे चार दशकदेखि गोरुको छाला काडेर दमाहा बनाउँदै आउनुभएका उहाँले पछिल्लो समय गोरुको छाला सहजै पाउन गाह्रो भएपछि दमाह बनाउन पनि कठिन भएको बताए ।
“मरेको गोरुको छाला काटेर दमाहा, ट्याम्का र मादल बनाउछौं । पहिला गाईगोरु पनि धेरै हुन्थे र धेरै मर्थे पनि । हिजोआज गाईगोरु पाल्न छाडेका छन् । त्यसैले मेरेको भेटाउन पनि गाह्रो हुन थालेको छ”, उनले भने । पछिल्लो समय आधुनिक बाजाको प्रयोग बढेको र नयाँ पुस्ता पनि त्यसैमा लागेको पनि उनको भनाइ छ । “गोरुको छाला पाउन गाह्रो भएपछि राँगाको छाला प्रयोग गर्न थालेका छौँ”, उनले भने, “एउटा राँगाको छालालाई रु दुई हजारदेखि दुई हजार पाँचसम्म पर्छ ।”
एउटा दमाहा बिक्रीबाट उनले रु पाँच हजार आम्दानी गर्नुहुन्छ भने ट्याम्का बनाएको रु दुई हजार लिन्छन् । यद्यपि दमाहाको आकारअनुसार पैसा लिने गरेको उनको भनाइ छ । दमाहाको मूल्य आकारअनुसार रु पाँच हजारदेखि १५ हजारसम्म पर्ने उनको भनाइ छ । पस्तोके बादीका घरमा दमाहा, ट्याम्का र मादल मर्मतका लागि बाँके, बर्दिया सुर्खेतदेखि मानिसहरु आइपुग्छन् । विशेषगरी चाडवाड नजिकिँदै गर्दा यस्ता सामान बनाउन आउनेको सङ्ख्या बढी हुने उनको भनाइ छ ।
जाजारकोटको शिवालय गाउँपालिका–६ थालारैकरबाट बसाइँसराइ गरी बाँके झर्नुभएका पस्तोकेले दमाहा बनाएरै आफ्नो सात जनाको परिवार पाल्दै आएका छन् । पर्वको अवसर पारेर मात्रै यस्ता बाजा बनाउन आउने भएकाले घरखर्च धान्न र परिवार पाल्न कठिन हुँदै गएको पस्तोको भनाइ छ ।
बाह्रैमास कमाइ नहुने भएकाले अहिलेका वादी पुस्ताले यो पेसालाई अगाल्न नचाहेको उनको अनुभव छ । “यो यस्तो सीप हो जस्को प्रयोग पर्व छ महिना वा वर्ष दिनमा मात्रै गर्न पाइने भएकाले छोराहरु यो पेसा गर्न चाहदैनन् । हाम्रो शेषपछि यो पेसा धरापमा पर्छ भन्ने ठूलो चिन्ता छ मलाई ।’ उनले भने ।
पस्तोके जस्तै दमाहा र ट्याम्कामा गोरुको छाला कसेर पाँच जनाको परिवार पाल्दै आएका छन् अम्मर बादीले पनि । सुर्खेतको राकमबाट बाँकेको भरैयामा झरेर ३५ वर्षयता अम्मरले दमाहा र ट्याम्का बनाउँदै आइरहेकाच छन् । उमेरले पाँच दशक पार गरी सक्नुभएका अम्मरले यो सीप आफ्नै बाबुबाट सिक्नुभएको हो । यो पेसामा बुबा र आमा दुवै संलग्न भएको उनको भनाइ छ ।
आमा बुबाबाटै सिकेको सीपलाई अम्मरले पेसाका रुपमा अगालेर यसैबाटको आम्दानीले परिवार पाल्दै आउनु भएको छ । कूल २७ घरधुरी भएको भरैयामा पस्तोके, अम्मर, खम्मबलाल र बले गरी चार जना पुराना पुस्ताले दमाहा, ट्याम्का र मादल बनाएर बादी समुदायको पेसालाई धान्दै आइरेका छन् ।
बादी समुदायका नयाँ पुस्ताले विशेष गरी फलामबाट बनिने हँसिया, बञ्चरो, हठौँडा, खुर्पा, खुकुरीलगायतका सामान बनाउने आरनको पेसालाई अँगालेका छन् । यसरी पूर्खाले गर्दै आएको पेसालाई छाडेर वादी समुदायबाट आरनको पेसालाई अँगाल्नेमध्यका एक हुनुहुन्छ निमबहादुर वादी । सैतिस वर्षीय निमबहादुरले आरन पेसाबाट मासिक रु ३० हजारदेखि ४० हजारसम्म कमाइ गर्ने गरेको बताउछन् । “आरनबाट मैले दिनको १२ देखि १५ सयसम्म कामउने गरेको छु । मासिक न्यूनतम रु ४० हजार आम्दानी हुन्छ”, उनले भने, “पूर्खाले गर्दै आएको पेसा दैनिक आम्दानी हुने पेसा होइन ।”
विसं २०५८ मा एसएलसी पास गर्नुभएका निमले आरन पेसाबाट परिवार पाल्दै आएका छन् । उच्च शिक्षा पढ्ने रहर हुँदाहुँदै पनि आर्थिक अभावका कारण पढ्न नसकेको बताउँदै आर्थिक अभावले आफ्ना सन्तानलाई पढ्नबाट वञ्चित हुन नपरोस् भनेर पनि आफूले दैनिक कमाइ हुने आरन पेसालाई रोजेको उनको भनाइ छ । निम जस्तै भरैया गाउँका केही युवा आरन पेसा गर्दैछन् भने केही वैदेशिक रोजगारमा विदेश गएका छन् ।
प्रतिक्रिया दिनुहोस्