Ads

चीन भ्रमण सकेर प्रधानमन्त्री आज स्वदेश फर्कँदै


काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल चीनको औपचारिक भ्रमण सकेर आज स्वदेश फर्कँदैछन् । आठ दिनको चीन भ्रमण सकेर उनी स्वदेश फर्कन लागेका हुन् । संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन प्रधानमन्त्री नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ ३० गते अमेरिका प्रस्थान गरेका थिए ।

संयुक्त राष्ट्रसङ्घको न्युयोर्कस्थित मुख्यालयमा चलेको महासभाको आम बहस, जलवायु सम्मेलनलगायत विविध सत्रमा नेपाल सरकारका तर्फबाट उनले सम्बोधन गरे । न्युयोर्कमा रहँदा उनले अमेरिकाका राष्ट्रपति जो बाइडेनसँग विशेष भेटवार्ता गरेका थिए । साथै अन्य मुलुकका समकक्षीसँग पनि द्विपक्षीय भेटवार्ता गरे ।

प्रधानमन्त्री दाहाल अमेरिकाबाट सिधै छिमेकी मुलुक चीनको औपचारिक भ्रमणका लागि असोज ५ गते त्यसतर्फ प्रस्थान गरेका हुन् । चीनमा रहँदा उनले चीनका राष्ट्रपति सी चिनफिङसँग उच्चस्तरीय द्विपक्षीय भेटवार्ता गरे । सो क्रममा उनले चीनमा भएको एसियाली खेलकुदलगायत विविध समारोहमा सहभागिता जनाए ।

त्यस्तै प्रधानमन्त्री प्रचण्डले चीनका प्रधानमन्त्री ली छ्याङसँग राजधानी बेइजिङमा नेपाली प्रतिनिधिमण्डलसहित उच्चस्तरीय वार्ता गरे । सो क्रममा दुई देशबिच १३ वटा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । उनी चीनको स्वशासित क्षेत्र तिब्बतको भ्रमणपछि आज स्वदेश फर्कन लागेका प्रधानमन्त्री कार्यालयले जनाएको छ । दाहाल आज बिहान १० बजे नेपाल आइपुग्ने जनाइएको छ ।

Ads

सम्बन्धित पोष्टहरू