काठमाडौं । बहुप्रकोपीय विपद्का हिसाबले उच्च जोखिममा रहेको नेपालमा ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन’का विषयमा राष्ट्रिय सम्मेलन सुरु भएको छ ।
काठमाडौँमा जारी दुई दिने सम्मेलनमा विपद् जोखिमको अवस्था, जोखिम न्यूनीकरण, पूर्वतयारी, राहत तथा उद्धारसम्बन्धी भइरहेका योजना तथा कार्यक्रम, नीतिगत व्यवस्था र आगामी दिनमा अपनाउनुपर्ने कार्ययोजनाका विषयमा छलफल भइरहेको छ।
सम्मेलनमा सरोकारवाला निकायबीच भइरहेका कामकारबाही र अन्तर्राष्ट्रिय अभ्यासका विषयमा समेत अनुभव आदान–प्रदान भइरहेको छ । डिपीनेट नेपालको समन्वय तथा गृह, सङ्घीय मामिला तथा सामान्य प्रशासन, सहरी विकास, वन मन्त्रालयलगायतका विभिन्न सङ्घसंस्थाको सहकार्यमा सम्मेलन भएको हो ।
सम्मेलन उद्घाटन समारोहमा गृहसचिव टेकनारायण पाण्डेले तीनै तहको सरकारको साझेदारीमा विपद्का अवधारणालाई अगाडि बढाउने प्रयास सुरु भएको जानकारी गराउँदै मुलुकमा देखिएका बहुप्रकोपीय विपद्को सामना गर्न सबैको सहकार्य आवश्यक रहेको बताएका छन् ।
पाण्डेले अहिले भइरहेको पूर्वसूचना प्रणालीलाई प्रभावमा आधारित बनाएर वास्तविक तथ्याङ्क र प्रभावबारे जानकारी दिनुपर्नेमा जोड दिए । सम्मेलनको पहिलो दिन आज विपद् सुशासन र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको स्थानीयकरणसम्बन्धी छलफल भएको थियो ।
शुक्रबारको प्राविधिक सत्रमा विपद् जोखिम व्यवस्थापन र बुझाइसम्बन्धी छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्