Ads

“विद्यालय शिक्षा विधेयकलाई संविधानकाे मूल्य,मान्यता र भावना अनुसार सहमतिमै टुंग्याउनुपर्छ”: रमेश लेखक


काठमाडाैँ । नेपाली कांग्रेसले विद्यालय शिक्षा विधेयक संविधानको मूल्य र मान्यता अनुसार अगाडि बढाउनुपर्ने बताएको छ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले विद्यालय शिक्षा विधेयकलाई संविधानको मूल्य, मान्यता र भावनाअनुसार नै अगाडि बढाउनुपर्ने बताएका हुन्।

प्रमुख सचेतक लेखकले सो विधेयकलाई सहमतिकै आधारमा अघि बढाउन पनि सबै राजनीतिक दलहरुलाई आग्रह गरे। सरकारले सरोकारवालाहरुसँग सम्झौता गरेर सो विधेयक ल्याएकाले त्यसलाई सहमतीकै आधारमा अघि बढाउन उपयुक्त हुने उनको तर्क थियो।

प्रमुख सचेतक लेखकले भने, ‘सरकारले यो विधेयकलाई पर्याप्त रुपले छलफल गरेर ल्याएको छ भन्ने कुरामा हामी विश्वास गरौं। किनभने भर्खरै सम्बन्धित सरोकारवालाहरुको आन्दोलनलाई पनि सरकारले सहमतिमा टुंग्याएको छ। विधेयक प्रस्तुत भएको छ’ उनले भने, ‘यो विधेयकलाई संविधान मूल्य, मान्यता र भावना अनुसार सरोकारवालाहरुको सबै चिन्ता र चासोलाई समेटेर सहमतीका साथ यो विधेयकलाई निष्कर्षमा पुर्याउनु पर्छ। ’

प्रमुख सचेतक लेखकले सो विधेयक पारित गराउन पनि ढिलाई गर्न नहुने बताए।

Ads

सम्बन्धित पोष्टहरू