Ads

प्रतिनिधिसभाकाे बैठक बस्दै, विद्युत् विधेयकलाई निर्णयार्थ प्रस्तुत गरिने


काठमाडौँ । प्रतिनिधिसभाकाे बैठक आज पनि बस्दैछ । बैठक दिउँसाे ३ः३० बजे बस्ने भएकाे हाे  । आजकाे बैठकमा विद्युत् विधेयक, २०८० का बारेमा उठेका प्रश्नहरुकाे ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले जवाफ दिने र सभामुख देवराज घिमिरेले साे विधेयक निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेकाे संसद सचिवालयले जनाएकाे छ ।

यसअघि आइतबार साे विधेयकका सैद्धान्तिक पक्षमाथिको छलफल सकिएको थियाे  । छलफलमा सहभागी सांसदहरुले ऊर्जा क्षेत्रको समग्र विकासका लागि प्रस्तुत विधेयकका सबै पक्षको समीक्षा गरी त्यसका कमजोरी सुधार गर्न आवश्यक भएको बताएका थिए ।

मुलुकको समग्र आर्थिक विकासको मेरुदण्डका रुपमा ऊर्जा क्षेत्रलाई लिइएपनि विधेयकले त्यसलाई पूर्ण रुपमा सम्बोधन गर्न नसकेको उल्लेख गर्दै उनीहरूले सरकारी, सार्वजनिक तथा निजी क्षेत्रको सामूहकि प्रयासबाट मात्रै ऊर्जा क्षेत्रको विकास सहज हुने बताए । उनीहरुले आगामी ३० वर्षसम्म अर्को कानुन तर्जुमा गर्नु नपर्ने गरी विधेयकलाई समृद्ध बनाउनुपर्नेमा जोड दिए ।

बिजुलीको आन्तरिक खपत बढाउन औद्योगिक वातावरण बनाउनुपर्ने उल्लेख गर्दै सांसदहरुले बिजुलीको विषयमा राम्रै बहस भएपनि पानीको उपयोगका बारेमा विधेयक मौन रहेको टिप्पणी गरे ।  जलाशययुक्त ठूला आयोजना निर्माण गर्दा त्यहाँ जम्मा हुने पानीको उपयोगलाई विधेयकमा  प्रष्ट पार्न जरुरी रहेको उनीहरुको भनाइ थियो ।

Ads

सम्बन्धित पोष्टहरू