Ads

मधेशमा नेतृत्व चयन प्रकृया शुरु, सुदुरपश्चिममा कुरा मिल्न सकेन


काठमाडौं । नेकपा एमाले मधेस प्रदेश अधिवेशनमा आजबाट नेतृत्व चयन प्रक्रिया सुरु हुने भएको छ । बन्दसत्र सकिएसँगै नेतृत्व चयन प्रक्रिया सुरु हुने भएको हो ।

अध्यक्ष केपी शर्मा ओलीले हिजो (बुधबार) उद्घाटन गरेको अधिवेशनको बन्दसत्र राति ८ बजे सुरू भएको थियो । उक्त बन्दसत्रले राजनीतिक र सांगठनिक प्रतिवेदन सुझावसहित पारित गरेको छ ।

अधिवेशनका लागि एक हजार २७ प्रतिनिधि छनोट भएका छन् । प्रदेशको नेतृत्वका लागि सकेसम्म सहमतिको प्रयास गरिने मधेस प्रदेशको इन्चार्जसमेत रहेका पार्टी सचिव योगेश भट्टराईले जानकारी दिएका छन् ।

सकेसम्म सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको छ । एमाले मधेस प्रदेश कार्यालयका उपसचिव फरमुद नदाफले ११ बजे पार्टीका उपलब्ध शीर्ष नेताहरूको बैठक बसेर सहमतिको प्रयास गर्ने तयारी भएको बताए । ईश्वर पोखरेल, शंकर पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ, पोलिटब्युरो तथा केन्द्रीय सदस्यहरू बसेर सर्वसहमतिको प्रयास गर्ने तयारी रहेको उनले जानकारी दिए ।

सुदुरपश्चिममा प्रकृया लम्बियो
नेकपा एमाले सुदूरपश्चिम प्रदेशमा उपसचिवमा कुरा नमिल्दा नेतृत्व चयनको प्रक्रिया लम्बिएको छ । जारी अधिवेशनमा अध्यक्षका आकांक्षी चारजनाबाट दुईजनाले उमेदवारी फिर्ता लिँदा पनि उपसचिवमा सहमति हुन सकेको छैन ।

अध्यक्षमा आकांक्षा राखेका कमल तिमिल्सिना र बचनबहादुर सिंहले उमेदवारी फिर्ता लिइसकेका छन् । अध्यक्षका उमेदवारमा स्थायी कमिटी सदस्य कृष्णप्रसाद जैसी र नेता भीम रावल पक्षका भरत साउद छन् ।

अध्यक्षमा जैसीलाई निर्विरोध गराउन नेताहरु लागेका छन् । उपाध्यक्षमा कालीबहादुर शाही निर्विरोध भइसकेका छन् ।
रावल पक्षधरले सहमति नै गर्ने भए आफूहरुलाई पदाधिकारीमा दुईवटा पद दिनुपर्ने अडान राखेका छन् ।

उपसचिवमा उमेदवार दिलबहादुर विकका नाममा सहमति नभए चुनाव हुने साउद बताउँछन् । उपसचिवमा अशोक चन्दले उमेदवारी फिर्ता लिएर नरबहादुर विकलाई छाड्नुपर्ने सर्त रावल पक्षको छ ।

Ads

सम्बन्धित पोष्टहरू