काठमाडौ\ नेकपा एमालेको आन्तरीक जीवनमा नयाँ कोर्ष शुरु भएको छ । सवै प्रदेश कमिटीहरुमा अधिवेशन मार्फत नयाँ नेतृत्व चयन गरि एमालेले मिशन ८४ लक्षित नयाँ कोर्षको शुरुवात गरेको हो ।२०८४ सालमा हुने निर्वाचनमा एमालेलाई पहिलो शक्ति बनाउन उसले मिशन ८४ घोषणा गरेको छ ।
जनप्रतिनिधीमूलक निकायहरु र प्रदेश कमिटीको कार्यकारी पद सहित दोहोरो जिम्मेवारीमा रहेका नेताहरुलाई मूल जिम्मेवारी लक्षित बनाउँदै त्यस्तालाई विदा गरेको छ । अब एमालेले जनप्रतिनिधिमूलक र सांगठिन जीवनमा अलग अलग नेताहरुलाई कार्यसम्पादनका लागि अवसर दिएको छ ।
काँहि निर्वाचन, काँहि सर्वसम्मत्
भदौ १६ गते लुम्बिनी प्रदेशबाट सुरु भएको अधिवेशन असोज २४ गते मधेसमा पुगेर सकिएको हो । एमालेले कुनै प्रदेशमा मतदान र कुनैमा सहमतिमार्फत आगामी ४ वर्षका लागि प्रदेश हाँक्ने कमाण्डरसहित प्रदेश कमिटी चयन गरेको छ ।
अधिवेशनमा सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न अध्यक्ष केपी शर्मा ओलीको जोड थियो तर कतिपय प्रदेशमा यो निर्देशन लागु भएन । तथापि स्वास्थ्य प्रतिपष्र्धाले कार्यकर्ता तहसम्म उत्साह पैदा गरेको छ । लामो समय देखि एमालेमा सर्वसम्मतीको प्रयासले आन्तरिक निर्वाचनमा भाग लिन नपाएका नेता कार्यकर्ताले स्वास्थ्य प्रतिष्पर्धालाई पार्टीको लोकतान्त्रिक मान्यताको निरन्तरताको रुपमा व्याख्या गरेका छन् ।
सुदूरपश्चिम, मधेस र उपत्यका विशेषमा सर्वसम्मतिमै नेतृत्व चयन भएपनि अन्य प्रदेशमा निर्वाचन भएको हो । लुम्बिनीबाट पहिलो प्रदेश अधिवेशन थालेको एमालेले सोही प्रदेशमा चुनावी प्रतिस्पर्धा सुरु गरेको थियो । यस्तै बागमती, कर्णाली, गण्डकी र कोशी प्रदेशमा पनि चुनावी प्रतिस्पर्धामार्फत नयाँ कमिटी चयन भएका छन् । एमालेले सुदूरपश्चिम र मधेसमा भने सहमतिमै नेतृत्व चयन गरेको छ ।
कहाँ को को ?
नेकपा एमालेको सात भौगोलिक र एक गैह्र भौगोलिक प्रदेशको अधिवेशन सकिएको हो । प्रदेश संरचना अनुसार एमालेले पहिलो पटक प्रदेशमा अधिवेशन गरेको हो । अधिवेशनले विभिन्न पृष्ठभूमिका नेताहरुलाई अध्यक्षमा चयन गरेको छ ।
लुम्बिनी
बुटवलमा भएको एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट पाल्पाका राधाकृष्ण कँडेलले अध्यक्षमा निर्वाचित भए । कँडेलसँग केन्द्रीय सदस्यसमेत रहनुभएका प्युठानका हरि रिजाल २ मतले पराजित भए भने अन्य पदाधिकारीमध्ये उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ, सचिव दाङका लक्ष्मण आचार्य पुरुष उपसचिवमा रोल्पाका पूर्ण बुढा मगर र महिलातर्फ बर्दियाकी लिला राना मगर निर्वाचित भएका छन् ।
बागमती
एमाले बागमती प्रदेश कमिटीको अध्यक्षमा रामेछापका कैलाश ढुंगेलले मकवानपुरका कृष्णप्रसाद दाहाललाई पराजित गरे ।
एमाले बागमती प्रदेश उपाध्यक्षमा दावादोर्जे लामा, सचिवमा नवराज सिलवाल, उपसचिवद्वयमा प्रेम कुमार महर्जन र भक्तकुमारी लामा निर्वाचित भएका छन् ।
कोशी
अध्यक्ष केपी शर्मा ओलीको गृह प्रदेश समेत रहेको कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भए ।खतिवडाले नेता विनोद ढकाललाई पराजित गरेका हुन् ।
यस्तै उपाध्यक्षमा धनकुटाका टीकाराम चेम्जोङ, सचिवमा पाँचथरका राजकुमार भण्डारी, उपसचिवमा झापाकी जलवर्षा राजवंशी र खोटाङका देवान राई निर्वाचित भए । कोशीमा पदाधिकारीसहित २१५ सदस्यीय कमिटी चयन भएको छ ।
गण्डकी
एमाले गण्डकी प्रदेश कमिटीको अध्यक्षमा नवराज शर्मा निर्वाचित भए। मतदानमा मायानाथ अधिकारीलाई पराजित गर्दै शर्मा अध्यक्षमा निर्वाचित भएका हुन् ।
शर्मालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र अधिकारीलाई स्थायी कमिटी सदस्य खगराज अधिकारीको समर्थन थियो । उपाध्यक्षमा मिनप्रसाद गुरुङ, सचिवमा धनञ्जय दवाडी, उपसचिवमा दामबहादुर विक र मञ्जु अधिकारी निर्वाचित भए ।
कर्णाली
एमाले कर्णाली प्रदेश कमिटीको अध्यक्षमा गुलावजंग शाह निर्वाचित भए । शाहले मीनबहादुर शाहीलाई पराजित गरे । यस्तै उपाध्यक्षमा टेकराज पछाई, सचिवमा ध्रुवकुमार शाही, उपसचिवमा रविन्द्रराज शर्मा र रमेशकुमार शाही निर्वाचित भए ।
सुदूरपश्चिम
एमालेको सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्ष अछामका कृष्ण जैशी सर्वसहमत चयन भएका छन् । पाँच दिन लगाएर सम्पन्न एमाले सुदूरपश्चिम अधिवेशनमार्फत अध्यक्षमा जैशीसहित पाँच पदाधिकारी सर्वसम्मत चयन भएका हुन् ।
यस्तै सुदूरपश्चिमको उपाध्यक्षमा कालीबहादुर शाही, सचिवमा रणबहादुर चन्द, उपसचिवमा नरबहादुर विक र भागरथी विष्ट चयन भए ।
मधेस
एमाले मधेस प्रदेशको नयाँ नेतृत्व सर्वसहमति चयन भएको छ । प्रदेश अध्यक्षमा चन्देश्वर मण्डल, उपाध्यक्षमा विचारी यादव, सचिवमा मनोज पौडेल, सह–सचिवमा आरती भण्डारी र मोहम्मद कैस सर्वसम्मत चयन भएका छन् ।
उपत्यका
एमालेको उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशनबाट अध्यक्षमा प्रेम कुमार पराजुली चयन भए । उनको नेतृत्वमा ७५ सदस्यीय नयाँ नेतृत्व चयन भएको हो । कमिटीको उपाध्यक्षमा विदुर कार्की, सचिवमा मिलन धरेल, उपसचिवमा उर्मिला सुनुवार र जीतेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।
प्रदेश कमिटीको नयाँ नेतृत्वले पार्टीलाई जनस्तर सम्म चलायमान बनाउने,नयाँ नेतृत्व,नयाँ नीति र नयाँ कार्यक्रम सहित प्रदेश कमिटीहरु जनतामा जाने केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमको धारणा छ । गौतमका अनुसार कपिय ठाउँमा सर्वसम्मत,कतिपय ठाउँमा निर्वाचनबाट नेतृत्व आएकोले यसमा कार्यकर्ताहरु उत्साही देखिएका छन् ।
प्रतिक्रिया दिनुहोस्