काठमाडाैँ । नेकपा एमाले कोशी संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले संविधानको रक्षाको लागि केदार कार्कीलाई एमालेले साथ दिएको बताएका छन ।
संसदीय दलका नेता कार्कीले संविधान बनाउनेहरूले नै संविधानमाथि आक्रमण भएकाले संविधानको रक्षाको लागि केदार कार्कीलाई एमालेले साथ दिएको बताएका हुन ।
मूलुकमा सामाजिक सम्बन्ध खलल पुर्याउन खोजिएको भन्दै उनले त्यसका विरुद्ध दलहरू एक ठाउँमा उभिनुपर्नेमा जोड दिए । उनले संविधानको व्याख्या गर्नेहरू संविधान मिचेर आफैँ कुण्ठा र आक्रोश पोख्न थालेको बताए ।
उनले कोशी प्रदेशको सरकार गठनको प्रक्रिया धारा १६८ (५) पुग्न नदिन जेठदेखि असोजसम्म केन्द्रका नेताहरूको ढोका ढक्ढकाएको बताए ।
उनले भने, ‘१६८ (५) मा पुग्दा यताको सांसद उता सर्छ भनेर भन्दा २ जोर जुत्ता फाटे तर कसैले पत्याएन । अहिले मैले भनेकै कुरा सबैको घण्टी बजेको छ ।’
मध्यावधि निर्वाचनबाट एमाले नभागेको भन्दै अनुभवको आधारमा मध्यावधि टारेको उनको भनाइ छ । कांग्रेसको संस्थापन र माओवादीले एमालेलाई विश्वास नगरेकाले केदार कार्कीलाई साथ दिएको उनले बताए ।
संघीयताको उल्लंघन गर्दै सत्ता गठबन्धनले ठाडो हस्तक्षेप गरेकाले यसको विरोधमा कार्कीलाई साथ दिएको बताए ।
‘हामीले केन्द्रको तोक आदेश र चिर्कटो सम्झौताको भरमा नभएर कोशी प्रदेशको दलको निर्णयले केदार कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका हौं’, कार्कीले भने ।
प्रतिक्रिया दिनुहोस्