रुपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट सकिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार निर्धारित समय अनुसार नै क्यालिब्रेसनको फ्लाइट सम्पन्न भएको हो ।
एरोथाइको जहाज ५ फागुनमा नेपाल आएको हो । यो जहाजले आइतबारसम्म तोकिएको उडानहरु पूरा गरेको प्राधिकरणले जनाएको छ । पूर्वनिर्धारित तालिका अनुसार जहाज सोमबार थाइल्याण्ड फर्कनु पर्ने थियो ।
तर, उपकरण जडित जहाज नेपाल आएको मौकामा करिब आधा दर्जन आन्तरिक विमानस्थलहरुमा पनि परीक्षण उडान गर्ने योजना बनाइएको छ । सोही अनुसार जहाज आइतबार नै पोखरा जाने भएको छ । त्यसपछि आन्तरिक विमानस्थलहरुमा परीक्षण उडान गरिने छ ।
यो जहाजबाट पोखरा, विराटनगर, नेपालगञ्ज, सिमरा र काठमाडौंमा क्यालिब्रेसन उडानको तयारी रहेको जनाइएको छ । क्यालिब्रेसन फ्लाइटपछि अब एरो थाईले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई प्रतिवेदन दिने छ ।
यसरी प्रतिवेदन आएपछि प्राधिकरणको एरोनटिकल इन्फरमेसन म्यानेजमेन्ट विभागले उक्त प्रतिवेदन प्रकाशित गर्ने छ । जसका आधारमा विमानस्थल उडानयोग्य भए–नभएको निश्चित हुनेछ ।
त्यसपछि विमानस्थलमा परीक्षण उडानको बाटो खुल्ने छ । विमानस्थलमा बुद्ध जयन्तीको अवसर पारी २ जेठमा उद्घाटन उडान गर्ने तयारी प्राधिकरणले गरेको छ ।
प्रतिक्रिया दिनुहोस्