Ads

एमालेले मंसिर १४ देखि मध्यपहाडी विशेष अभियान चलाउने


काठमाडौं । नेकपा (एमाले) ले मंसिर १४ गतेदेखि बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभन्ज्याङसम्म विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

केन्द्रीय कार्यालय च्यासलमा बुधबार बसेको सचिवालय बैठकले मध्यपहाडी-पुष्पलाल लोकमार्गकेन्द्रित विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए।

‘सिंगो देशको अभियानको रूपमा विकास निर्माण र सामाजिक एकताको सन्देश दिने राष्ट्रिय अभियानको रूपमा यसलाई अघि सारेका छौं । अभियानको नाम ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ राखिएको छ’, उनले भने ।

ज्ञवालीका अनुसार अभियानको सुरूवात बैतडीको झुलाघाटनमा अध्यक्ष केपी ओलीले राष्ट्रिय झण्डा फहराएर अभियानको थालनी गर्नेछन् ।

पहाडी क्षेत्रमा विकास र पूर्वाधार पुगिरहेपनि बसाइसराइ बढ्दै गएकाले यो विरोधाभाषलाई अन्त्य गर्नु अभियानको एक उद्देश्य रहेको एमालेले जनाएको छ । सँगै सामाजिक सद्भाव र एकतालाई बलियो बनाउँदै राष्ट्रिय एकताको आधार गर्ने विषयमा पनि अभियान केन्द्रित हुनेछ ।

‘अहिले निराशाको खेती छरिएको छ, परिवर्तनको विपक्षमा उभ्याउने कोसिस भइरहेको छ । पुष्पलालले स्थापना गर्नुभएको कम्युनिष्ट पार्टी ७५औं वर्षमा पुगिरहँदा यो बीचमा के काम गर्‍यौं । यो देशलाई हामीले नै राम्रो बनाउन सकिन्छ । परिवर्तनका लागि लडेकाहरू हामी यहीँ जनताको साथमा छौं भन्ने सन्देश हामीले दिनेछौं’, ज्ञवालीले भने ।

Ads

सम्बन्धित पोष्टहरू