Ads

नेपाल संवतलाई सरकारको दस्ताबेजमा लेख्ने प्रधानमन्त्रीको घोषणा


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल संवतलाई सरकारको दस्ताबेजमा उल्लेख गर्ने घोषणा गरेका छन् । शनिबार काठमाडौंमा आयोजित साहित्यकार तथा अभियन्ता पद्यरत्न तुलाधरको पाँचौं स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल संवत नै राष्ट्रिय संवत भएकाले सरकारको दस्ताबेजमा लेख्न आवश्यक भएको बताए ।

उनले नेपाल संवत ११४४ आउँदै गरेको उल्लेख गर्दै अब नेपाल संवत राष्ट्रिय संवत भनेर मात्रै नपुग्ने उल्लेख गरे । उनले आफू प्रधानमन्त्री हुँदा नेपाल संवतलाई राष्ट्रिय संवतका रुपमा मान्यता दिएको बताए ।

प्रधानमन्त्री प्रचण्डले भने ‘पद्यरत्नजीले नै मलाई भन्नुभयो नेपाल संवत नै राष्ट्रिय संवत हो । त्यसपछि मैले पहिलो पटक प्रधानमन्त्री हुँदा क्याबिनेटबाट नै नेपाल संवतलाई राष्ट्रिय संवतका रुपमा मान्यता दिएँ । त्यो घोषणा पनि पद्यरत्नजीसँगै बसेर गरिएको हो ।

अब नेपाल संवत ११४४ आउँदै छ, मसँग अस्ति केही प्रतिनिधिहरु आउनुभयो र यही नेपाल संवतबारे कुरा गर्दा भनेको छु, अब नेपाल संवत राष्ट्रिय संवत भनेर मात्रै भएन । त्यसलाई व्यवहारमा कार्यान्वयन पनि गर्नुपर्छ । अब त्यो राष्ट्रिय संवत नेपाल सरकारको दस्ताबेजमा लेखिन्छ ।”

प्रधानमन्त्री प्रचण्डले अहिले विभिन्न कोणबाट लामो संघर्ष र बलिदानबाट प्राप्त भएका गणतन्त्र र लोकतन्त्रमाथि एकथरीले प्रश्न उठाउने प्रयास गरेको बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाउने प्रयास भइरहेको बताए ।

Ads

सम्बन्धित पोष्टहरू