काठमाडौँ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अतिथि गृह तथा सभाहल निर्माण गरेको छ । रु दुई करोड २२ लाखको लागतमा अतिथि गृह तथा रु एक करोड ५७ लाखको लागतमा सभाहलको निर्माण भएको छ ।
वडा नं ९ स्थित केवलानीमा १६ कोठाको अतिथि गृह र एक हजार २ सय जना अट्ने क्षमताको सभाहल निर्माण गरेको नगरपालिकाले जनाएको छ ।सो सभाहलमा हाल कोरोना अस्थायी अस्पताल तथा अतिथि गृहमा अस्पतालमा खटिने स्वास्थ्यकर्मीको आवास व्यवस्थापन गरिएको छ । कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहरमा नगरपालिकाले सभाहलमा ६० शय्याको अस्थायी कोरोना अस्पताल निर्माण गरेको हो ।
महामारी पूर्णरुपमा अन्त्य भएपछि सभाहल तथा अतिथि गृहलाई उद्देश्यअनुरुप सञ्चालन गर्ने नगरपालिकाको तयारी छ । नगरपालिकाले दुई बिघा क्षेत्रफलमा अतिथि गृह र सभाहलको संरचना तयार गरेको नगरपालिकाका योजना प्रमुख इञ्जिनीयर प्रदीप वनले जानकारी दिएका छन् ।
पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माले आज(बुधबार) सभाहलको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाले नगरको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, वातावरण, सामाजिकलगायत सबै क्षेत्रमा प्रभावकारी काम गरेको बताए । -रासस
प्रतिक्रिया दिनुहोस्