झापा\ पहाडी क्षेत्रको मुख्य नगदेबालीका रुपमा लिइने अलैँचीको मूल्य बढेसँगै किसान हर्षित भएका छन् । गत वर्षको तुलनामा यस वर्ष अलैँचीको मूल्य बढेको छ । ताप्लेजुङमा अहिले प्रति मन (४० किलो) ६९ हजार रुपैयाँमा कारोबार भइरहेको अलैँची व्यवसायी बालमणि बरालले जानकारी दिए । उनका अनुसार यस वर्षको सबैभन्दा बढी गत सोमबार ७१ हजार रुपैयाँका दरले कारोबार भएको थियो ।
शुक्रबारदेखि अलैँचीको मूल्यमा उतारचढाव आइरहेको बरालको भनाइ थियो । मूल्यमा वृद्धि भएसँगै अलैँची किसान खुसी भएका छन् । पछिल्ला केही वर्ष न्यून मूल्यमा कारोबार गर्दै आएका किसानले यस वर्ष तुलनात्मक रुपमा केही बढी मूल्य पाएपछि खुसी भएका हुन् ।
“यस वर्ष उत्पादन केही घटे पनि मूल्य बढ्दा किसानलाई राहत पुगेको छ”, अलैँची किसान गणेश सिग्देलले भने, “अलैँचीको मूल्यमा सधैं एकरुपता हुनुपर्ने हो । ठूलो परिमाणमा मूल्य घटबढ भइरहँदा किसान अलमलमा पर्ने गरेका छन् ।”
गत आर्थिक वर्षको अन्तिम समयमा प्रति मन रू। ६० हजारका दरले कारोबार भएको थियो । यस वर्ष सिजनको सुरुवाती समयमा झण्डै त्यही हाराहारीमा कारोबार भएको थियो । बर्खामा अत्यधिक पानी र हिउँदमा लामो समय खडेरी पर्नुका साथै रोगकीराका कारण अलैँची उत्पादन घटेको किसान रश्मि आचार्यको भनाई छ । उनका अनुसार यहाँ उत्पादित अलैँची झापाको बिर्तामोड हुँदै भारतीय बजारमा निर्यात हुने गरेको छ ।
पूर्वी पहाडी जिल्लाहरुमा उत्पादन हुने अलैंचीको मुख्य कारोवार स्थल भने झापाको विर्तामोड हो । ताप्लेजुङ्, पाँचथर, ईलाम, संखुवासभा, तेह्रथुम, भोजपुर लगायतका पूर्वी पहाडी जिल्लाहरुमा उत्पादन भएको अलैची झापा हुँदै भारत तर्फ निर्यात हुने गरेको छ । तर भारतीय बजारमा निर्भर नेपाली अर्लैचीको मुल्यमा भई रहने उतार चढावले नेपाली किसान र व्यवसायीहरुलाई समस्या पार्ने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्