Ads

राष्ट्रिय सभाका सदस्यहरूले गरे शपथ ग्रहण


काठमाडौं । राष्ट्रिय सभामा निर्वाचित सदस्यहरुले शपथ ग्रहण गरेका छन् ।

सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको कक्षमा आज आयोजित समारोहमा राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले नवनिर्वाचित १९ जना सदस्यहरुलाई शपथ ग्रहण गराएर ब्याच वितरण गरेका छन् ।

राष्ट्रिय सभामा नेपाली कांग्रेसबाट ६, नेकपा माओवादी केन्द्रबाट ५, नेकपा एकीकृत समाजवादीबाट ५, नेकपा एमाले, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबाट एक–एक जना सदस्य निर्वाचित भएका थिए । सरकारको सिफारिसमा राष्ट्रपतिबाट एक जना सदस्य मनोनित हुन बाँकी छ ।

गत माघ १२ मा १९ सिटका लागि भएको राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेसबाट गोपाल कुमार बस्नेत, कृष्णप्रसाद पौडेल, कमला पन्त, युवराज शर्मा, दुर्गा गुरुङ र नारायणदत्त मिश्र निर्वाचित भएका थिए ।
यसैगरी माओवादी केन्द्रबाट उर्मिला अर्याल, भुवनबहादुर सुनार, सुरेश आलेमगर, नरबहादुर विष्ट र जगतबहादुर पार्की , एकीकृत समाजवादीबाट जयन्तीदेवी राई, गोमादेवी तिमिल्सिना, राजेन्द्रलक्ष्मी गैरे, उदयबहादुर बोहरा र मदन कुमारी शाह (गरिमा) निर्वाचित भएका थिए ।

नेकपा एमालेबाट सोनाम गेल्जेन शेर्पा, जनता समाजवादी पार्टीबाट मोहम्मद खालिद र राष्ट्रिय जनमोर्चाबाट तुलप्रसाद विश्वकर्मा पनि राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् ।

समयावधि सकिने राष्ट्रिय सभाका सदस्यहरुमा नेकपा एमालेका पर्शुराम मेघी गुरुङ, अगमप्रसाद बान्तवा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनकला ओझा, रामलखन चमार र सुमनराज प्याकुरेलको पदावधि समाप्त भएको हो ।

यस्तै नेपाली कांग्रेसका राधेश्याम अधिकारी, दृग नारायण पाण्डे र तारादेवी भट्टको कार्यकाल सकिएको छ ।

माओवादी केन्द्रका दीनानाथ शर्मा, शशीकला दाहाल, खिमकुमार विक र जीवन बुढा तथा एकीकृत समाजवादीका उदया शर्मा पौडेल, ठगेन्द्र प्रकाश पुरी, शान्ति कुमारी अधिकारी जीसी र शेरबहादुर कुँवरको पनि कार्यकाल सकिएको छ ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनित रामनारायण बिडारीको कार्यकाल पनि समाप्त भएको छ ।

Ads

सम्बन्धित पोष्टहरू