काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छ प्रदेशका मुख्यमन्त्रीले सामूहिक भेटघाट गरेका छन् । शुक्रबार बागमती प्रदेशको राजधानी हेटौंडामा भेटेर रणनीति बनाएका मुख्यमन्त्रीहरुले आज बालुवाटारमा पुगेर प्रधानमन्त्रीसँग भेटघाट गरेका हुन् ।
हेटौंडामा भएको रणनीतिक भेटमा उनीहरुले प्रहरी समायोजन ऐन, निजामती कर्मचारी ऐन, शिक्षा ऐन, जग्गा प्राप्ति ऐनको अभावमा काम गर्न नसकेको र अर्कोतर्फ साझा अधिकार सूचीका तहगत कार्यविस्तृतीकरण नहुँदा पनि काम गर्न नसकिएको निष्कर्ष निकालेका थिए ।
आज प्रधानमन्त्रीसँगको भेटमा हेटौँडा बैठकले गरेको निर्णय र पोखरा बैठकको निर्णयबारे ध्यानाकर्षण गराउँदै सङ्घीयता कार्यान्वयन र संविधान बमोजिम प्रदेश सरकारलाई अधिकार प्रत्यायोजन गर्न उनीहरुले प्रधानमन्त्रीलाई अनुरोध गरेका छन् । हेटौँडा भेलाले गरेको ९ बुँदे निर्णय प्रधानमन्त्री प्रचण्डलाई बुझाइएको थियो ।
मुख्यमन्त्रीहरूको टोलीमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाह भने सहभागी भएनन् । कार्यव्यस्तताका कारण मुख्यमन्त्री शाह काठमाडौँ नआएका हुन् ।संघीय सरकारले प्रदेशलाई अधिकार प्रत्यायोजवन नगर्दा काम काजमा समस्या भएको भन्दै सातै प्रदेशका मुख्यमन्त्रीहरु प्रधानमन्त्री प्रचण्डसँग रुष्ट रहँदै आएका छन् । आजको भेटमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि सहभागी भएका थिए ।
प्रतिक्रिया दिनुहोस्