काठमाडाैँ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको एक घटक जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सरकारप्रति तीव्र आक्रोश पोखेका छन् । उनले पार्टी सरकारमा छ भन्दैमा रातलाई दिन भन्न नसक्ने उल्लेख गरेका छन् । प्रतिनिधि सभा सदस्य समेत रहेका राउतले पछिल्ला दिनमा सामाजिक सञ्जालमार्फत सरकारप्रति निरन्तर आक्रोश पोखिरहेका हुन् ।
‘हाम्रो पार्टी सरकारमा छ भन्दैमा मैले रातलाई दिन, दिनलाई रात भन्दिनुपर्ने ? गलतको विरोध मैले निजीरूपमा पनि गर्न नपाउने ? त्यही चाहना गठबन्धनको ? त्यही अपेक्षा जनताको पनि ?’ राउतले सामाजिक सञ्जाल ट्वीटरमा प्रश्न गरेका छन् ।प्रचण्ड सरकारमा जनमत पार्टीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लिएर सहभागी भएको छ । राउतले ललितपुरको बालकुमारीमा दुई जनाको मृत्यु भएको घटनालाई लिएर ‘भ्रष्ट राज्यले रोजगारी दिएन छातीमा गोली दियो’ भन्दै आक्रोश व्यक्त गरेका थिए ।
‘अङ्गप्रत्यङ्ग बिकेको यो भ्रष्ट राज्यले युवालाई शिक्षा दिएन, स्वास्थ्य सेवा दिएन, रोजगारी दिएन । बा–आमालाई लागेको ऋण चुकाउन विदेश जान लाग्दा पनि कमिसनखोर मन्त्री र कर्मचारीहरूको सिन्डिकेटले अनेक बहानामा पैसा असुल गर्न अवरोध खडा गर्यो र छातीमा गोली ठोकिदियो,’ सीकेले सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्