Ads

‘एस’ले स्विकारेन भागवण्डा, आज पनि बैठक


काठमाडौँ, राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धन दलहरूबिच सिट बाँडफाँटमा सहमति भएको दावि गरेका छन् । तर गठवन्धनकै साझेदार नेकपा एकिकृत समाजवादीले सहमति मानेको छैन ।

शनिबार राति अबेरसम्म बसेको बैठकले सिट सङ्ख्याको टुङ्गो लगाएको दावि गरिए पनि अन्तिम निर्णय भने आइतबार बिहान बस्ने बैठकले गर्ने बताइएको छ ।

बैठकमा सहभागी नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ का अनुसार निर्वाचन हुन गइरहेका १९ सिटमध्ये नेपाली कांग्रेसले १०, माओवादी केन्द्रले छ, नेकपा (एकीकृत समाजवादी) ले दुई र जनता समाजवादी पार्टी (जसपा) ले एक सिट लिने निर्णय भएको छ । “करिब करिब यसै वरिपरि सहमति भएको छ । तर यसमा एकीकृत समाजवादीले चित्त बुझाएको छैन ।

नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले भने सिट बाँडफाँटमा सबै पार्टीहरूको आआफ्नो दाबी कायमै भएकाले सहमति हुन नसकेको दावि गरे । उनले आइतबार पुनः बैठक बस्ने गरी आफूहरू बैठकबाट बाहिरिएको जानकारी दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ ७ बजेदेखि सुरु भएको बैठक राति करिब १२ बजेसम्म बसेको थियो ।बैठकमा प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित ती दलका दोस्रो तहका नेताहरूसमेत संलग्न थिए ।

यसअघि यी पाँच पार्टीबाहेक सरकारमा सहभागी जनमत पार्टीका अध्यक्ष सिके राउत, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नागरिक उन्मुक्ति पार्टीका नेता एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ बैठकको बिचबाटै बाहिरिएका थिए ।

राष्ट्रिय सभामा आगामी फागुन २० गते राष्ट्रपतिबाट मनोनीत एक जनासहित २० जनाको पदावधि सकिँदै छ । जसमा एमालेबाट सबैभन्दा बढी आठ जना, कांग्रेसबाट चार जना, माओवादी केन्द्रबाट तीन जना, एकीकृत समाजवादीबाट दुई जना, जसपाबाट एक जना स्वतन्त्र एक एक जना रिक्त हुँदै छन् ।

Ads

सम्बन्धित पोष्टहरू