Ads

माओवादीले स्थानीय निर्वाचनपछि पदाधिकारी चयन गर्ने


काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय निर्वाचनपछि मात्रै पदाधिकारी चयन गर्ने भएको छ । गत पुसमा महाधिवेशन गरेको माओवादी केन्द्रले अहिलेसम्म पदाधिकारी चयन गरेको छैन । महाधिवेशन सकिएपछि पहिलो केन्द्रीइ कमिटी बैठकबाट अध्यक्ष चयन गरेको थियो ।

माओवादीमा कति जना पदाधिकारी रहेन भन्ने बारेमा पनि निर्णय भएको छैन । पदाधिकारीबारे सहमति र त्यसको गृहकार्य बाँकी नै रहेकाले पदाधिकारी छनोट स्थानीय चुनावपछि मात्रै हुने एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

आजको केन्द्रीय कमिटी बैठकले केन्द्रीय समितिलाई पूर्णता दिने र नेताहरुको कार्यविभाजन गरेर सक्ने तयारी रहेको ती स्थायी कमिटी सदस्यले बताए । शुक्रबार सुरु भएको सो पार्टीको बैठक आइतबारका लागि तय भएपनि स्थगन गरेर नेताहरु सहमतिको प्रयासमा जुटेका थिए । तर, महासचिव लगायतका पदमा सहमति नजुटेपछि माओवादीमा पदाधिकारी चयन नगरी बैठक सक्ने तयारी भएको हो ।

सोमबार बिहान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा नेताहरुबीच भएको छलफलमा पनि पदाधिकारी चयन निर्वाचनपछि नै गर्नेगरी छलफल भएको सहभागी एक स्थायी कमिटी सदस्यले जानकारी दिए । शुक्रबारको बैठकमा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक अवस्था, एमसीसी र स्थानीय निर्वाचनबारे ब्रिफिङ गरेका थिए । त्यस्तै अर्का नेता नारायणकाजी श्रेष्ठले आफ्नो धारणा राख्दै एमसीसी अनुमोदनप्रति असन्तुष्टि जनाएका थिए ।

केन्द्रीय कमिटी बैठकका लागि विभिन्न ६ एजेण्डा तय भएका थिए । तीमध्ये अध्यक्षको तर्फबाट रिर्पोटिङ गर्ने काम सकिएको छ । आजको बैठकमा अध्यक्षले एमसीसीबारे उठेका प्रश्नको जवाफ दिनेछन् । बाँकी एजेण्डामा संगठनात्मक काममा केन्द्रीय समितिलाई पूर्णता दिने, पोलिटब्युरो, स्थायी समिति र पदाधिकारीलाई पूर्णता दिने प्रस्ताव छन् । यस्तै, अर्को एजेण्डामा पार्टी नेताको कार्यविभाजन, स्थानीय निर्वाचन तयारीका विषय थिए । माओवादीको विधान अनुसार २९९ सदस्यीय केन्द्रीय कमिटी गठन गर्नुपर्नेमा यसअघि २४७ जनामात्रै चयन गरेको थियो । आजको बैठक ११ बजे बस्ने भनेपनि १२ बजेमात्रै सुरु भएको छ ।

Ads

सम्बन्धित पोष्टहरू