Ads

सामुदायिक विद्यालय समायोजन गर्दै स्थानीय तह


कञ्चनपुर । कञ्चनपुरमा स्थानीय तहले विद्यालय समायोजन र व्यवस्थापनका लागि प्रक्रिया अघि बढाएका छन् । जिल्लामा नौ पालिकामा ५७ सामुदायिक विद्यालय छन् । भीमदत्त नगरपालिकाले विद्यालयको स्थलगत अनुगमन गरी तयार गरिने प्रतिवेदनका आधारमा व्यवस्थापन गर्ने जनाएको छ ।

भीमदत्त नगरपालिका शिक्षा शाखाका प्रमुख कलावती मिश्रले सामुदायिक विद्यालयको अनुगमन जारी रहेको बताए । “चालिसवटा विद्यालयको समग्र अवस्थाबारे स्थलगत अनुगमन भइसकेको छ”, उनले भने, “सो क्रममा विद्यार्थीको सङ्ख्या, विद्यालयको अवस्था र विद्यालयबीचको दूरीलगायतका विषय बुझ्ने गरिएको छ ।” उनले प्रतिवेदनपछि मात्रै विद्यालय समायोजनदेखि व्यवस्थापनका विषय अघि बढ्ने जानकारी दिए ।

त्यसैगरी यहाँको शुक्लाफाँटा नगरपालिकाले गत वर्ष नै विद्यालय समायोजन गर्ने लक्ष्यसहित सामुदायिक विद्यालय अनुगमन गरिसकेको छ । शिक्षा शाखाका प्रमुख सुरेशप्रसाद भट्टले गत वर्ष शैक्षिकसत्र सुरु भइसकेकाले समायोजनको निर्णय हुन नसकेको बताए । “यहाँ रहेका ३२ वटा सामुदायिक विद्यालयमध्ये तीनदेखि चारवटासम्म समायोजन हुने भन्ने छ”, उनले भने, “त्यसका लागि कार्यदलसमेत पालिकामा बनेको छ ।” उनले यो वर्ष पालिकामा विद्यालय समायोजन भइसक्ने बताए ।

त्यसैगरी कञ्चनपुरको दोधारा चादँनी नगरपालिकाले सामुदायिक विद्यालयमा समायोजन गरिसकेको छ ।यहाँको शिक्षा शाखाका प्रमुख हरिदत्त जोशीले यहाँ एउटा सामुदायिक विद्यालय समायोजन गरिएको बताए ।

“दोधारा चादँनीमा २३ वटा सामुदायिक विद्यालयबाट समायोजन गरेर २२ रहे ।” उनले भने–“ दरबन्दी मिलान पनि सोही अनुसार भइसकेको छ ।” बेल्डाँडी गाउँपालिकाले पनि समायोजन कार्य अघि बढाउन सामाजिक विकास समितिका संयोजकको संयोजकत्वमा १२सदस्यीय कार्यदल बनाएको छ । “ कार्यदलले यहाँ रहेका १४ वटै विद्यालय अनुगमन गरेर प्रतिवेदन बनाएर पालिकाका अध्यक्षलाई बुझाएको छ ।

” बेल्डाँडी गाउँपालिका शिक्षा शाखाका प्रमुख भानुभक्त जोशीले रासससित भने–“ अध्यक्ष र कार्यपालिकाबाट निर्णय हुन बाँकी छ ।”शिक्षा विकास तथा समन्वय इकाई कार्यालयका प्रमुख दिपक कलौनीले कञ्चनपुरमा बेदकोट र दोधारा चादँनी नगरपालिकामा एक/एक विद्यालय समायोजन भएको जानकारी दिए । कञ्चनपुरमा कुल २५९ सामुदायिक विद्यालय सञ्चालित छन् ।

Ads

सम्बन्धित पोष्टहरू