काठमाडौं । ५९ सदस्यीय राष्ट्रिय सभामा आगामी फागुन २० गतेदेखि रिक्त हुने २० सिट मध्ये १९ सिटका लागि आज चुनाव हुँदैछ । एक सिटमा सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था भएकाले बाँकी १९ सिटमा आज चुनाव हुन लागेको हो ।
यसको सम्पूर्ण तयारी भएको निर्वाचन आयोगले जनाएको छ । सातवटै प्रदेशमा प्रदेशसभाका मतदाता पाँच सय ४९ रहेका छन् भने स्थानीय तहका एक हजार चार सय ९८ रहेका छन् । प्रदेशसभामा प्रतिमतदाताको ५३ मतभारका दरले जम्मा मतभार २९ हजार ९७ रहेको छ भने स्थानीय तहको प्रतिमतदाताको १९ मतभारका दरले २८ हजार चार सय ६२ मतभार रहेको छ । दुवैतर्फका गरि दुई हजार ४७ मतदाताको जम्मा मतभार ५७ हजार पाँच सय ५९ रहेको छ ।
प्रदेशगतरुपले कोशीमा प्रदेशसभा सदस्यतर्फ ९३ र पालिका प्रमुख र उपप्रमुखतर्फ दुई सय ७४ गरी तीन सय ६७ मतदाता छन् । मधेस प्रदेशमा प्रदेशसभा सदस्यका एक सय सात र पालिका प्रमुख र उपप्रमुखका दुई सय ६७ गरी तीन सय ७४ मतदाता छन् भने बागमतीमा प्रदेशसभातर्फ एक सय १० तथा पालिका प्रमुख / उपप्रमुखतर्फका मतदाता दुई सय ३७ गरी जम्मा तीन सय ४७ मतदाता कायम भएका छन् ।
यस्तै गण्डकीमा प्रदेशसभातर्फ ६० तथा पालिका प्रमुख र उपप्रमुखतर्फका एक सय ७० गरी जम्मा दुई सय ३० मतदाता छन् । यता लुम्बिनीमा प्रदेशसभाका मतदाता ८७ तथा पालिका प्रमुख / उपप्रमुखतर्फ दुई सय १८ गरी तीन सय पाँच जना मतदाता कायम छन् । कर्णालीमा प्रदेशसभा सदस्यको संख्या ४० छ भने पालिका प्रमुख र उपप्रमुख एक सय ५६ जना छन् ।
सुदूरपश्चिम प्रदेशमा प्रदेशसभातर्फको मतदाता ५२ तथा पालिकाका प्रमुख र उपप्रमुखतर्फ मतदाता एक सय ७६ गरी जम्मा दुई सय २८ जना मतदाता कायम छन् । सातै प्रदेशमा गरि विभिन्न समूहका ५२ उम्मेदवार मैदानमा छन् । सातै प्रदेशमा महिला समूहतर्फ १७, दलित समूहतर्फ छ, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ आठ, र अन्य समूहतर्फ २१ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
प्रतिक्रिया दिनुहोस्