Ads

भैरहवामा उडानका लागि पाँच वायुसेवा कम्पनी सम्पर्कमा


काठमाडौँ । हालै निर्माण सम्पन्न भई व्यावसायिक उडानका लागि तयारी अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि पाँचवटा कम्पनी सम्पर्कमा आएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले उक्त विमानस्थलबाट चाँडोभन्दा चाँडो उडान तथा अवतरणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएसँगै आउँदो जेठ २ गतेबाट नियमित अन्तर्राष्ट्रिय उडान–अवतरणको तयारी भएको बताइएको छ ।

उडानका लागि कुवेतको जजिरा, श्रीलङ्काको श्रीलङ्कन, नेपाल वायुसेवा निगम, कतार एयरवेज, थाइल्याण्डको थाइ स्माइल वायुसेवा कम्पनी सम्पर्कमा आएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

अन्तर्राष्ट्रिय उडान तथा अवतरणका लागि विभिन्न कम्पनी सम्पर्कमा आएसँगै थप अध्ययनको कार्य सकेर उडान–अवतरणका लागि अनुमति दिइने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीपकुमार अधिकारीले बताए । उनले भने, “भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान–अवतरणका लागि केही हवाइ कम्पनी सम्पर्कमा आएका छन्, हामीले अध्ययन गरेर अनुमति दिने तयारी गरिरहेका छौँ ।”
विमानस्थलमा प्रमुख गोविन्दप्रसाद दाहालका अनुसार उक्त विमानस्थलका लागि कूल १५१ जनशक्तिको दरबन्दी रहे पनि हाल ३६ जना मात्र छन् । विमानस्थल सञ्चालनमा ल्याउन आवश्यक पर्ने जनशक्ति पठाउनसमेत मन्त्री आलेले सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
विमानस्थलको सुरक्षालगायत अन्य कामका लागि नेपाल प्रहरीका कम्तीमा पनि १७० जना र नेपाली सेनाका १७० दरबन्दी रहेको छ ।

यसैगरी मेट्रोलोजी विभागका कर्मचारी परिचालन निश्चित भइसकेको र भन्सार र अध्यागमनका प्राविधिक टोलीले निरीक्षण गरिसकेका छन् ।

यो विमानस्थलमा कम्बोडिया, म्यानमार, श्रीलङ्कालगायत विभिन्न बौद्ध धर्मावलम्बी भएका मुलुकसँगै श्रमिक गन्तव्यमा उडान सेवा दिँदै आएका वायुसेवा कम्पनीको सम्भावना उल्लेख्य रहेको प्राधिकरणले जनाएको छ ।

सरकारले आगामी जेठ २ गते परेको बुद्ध पूर्णिमाको अवसर पारेर सोही दिन उक्त विमानस्थल सञ्चालनमा ल्याउने तयारी गरेको हो । -रासस

Ads

सम्बन्धित पोष्टहरू