बुटवल । निर्वाचनका बेला सञ्चारमाध्यमले स्वतन्त्र, निष्पक्ष र तटस्थ भएर सत्यतथ्य सूचना सम्प्रेषण गर्नुपर्ने सरोकारवालाहरूले सुझाव दिएका छन् ।
नागरिकलाई सुसूचित गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने भएकाले सही सूचना प्रवाहको वातावरण मिलाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने उनीहरुले जनाए ।
नेपाल पत्रकार महासंघ रुपन्देही र फ्रि मिडिया नेटवर्कले आइतबार आयोजना गरेको ‘स्थानीय निर्वाचन र मिडियाको भूमिका’ विषयक छलफलमा सहभागीले निर्वाचनमा पत्रकारहरुमाथि हुनसक्ने सुरक्षा चुनौतीलाई पनि सबै पक्ष मिलेर हटाउनुपर्ने बताए ।
लुम्बिनी प्रदेशका सांसद तथा पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठले पत्रकारहरुले पनि पत्रकार आचार संहिता, निर्वाचन आचार संहिताको पालना गर्दै सही र सत्यतथ्य सूचना सम्प्रेषण गर्नुपर्ने बताए ।
सांसद रमा अर्यालले पत्रकारिताले नै सबैलाई खबरदारी गर्ने भएकाले सत्य उजागर गर्न डराउन नहुने बताइन् । यस्तै सांसद दीपा विश्वकर्माले पत्रकारहरुले स्वतन्त्र रुपमा समाचार सम्प्रेषण र विश्लेषण गर्न पाउनुपर्ने बताइन् ।
बुटवल उपमहानगरका उपप्रमुख गोमादेवी आचार्यले सञ्चारमाध्यमले लैंगिकताको सवाललाई ध्यान दिनुपर्ने बताइन् ।
प्रतिक्रिया दिनुहोस्