काठमाडौ\ पछिल्लो पटक सरकारले रुसी सेनामा कार्यरतमध्ये थप सातजना नेपालीको निधन भएको पुष्टि गरेको छ । योसँगै परराष्ट्रका अनुसार रुसी सेनामा कार्यरत १७ जना नेपालीको निधन भएको छ । तर, रुसी सेनामा कार्यरत परिवारजनका तर्फबाट संकलन भएको तथ्यांकअनुसार रुसमा मृत्यु भएका २५ जना नेपालीको परिवारले काजकिरिया गरेको छ ।
रुसमा रहेका नेपाली पीडितको परिवार तथा नागरिकको जीवनरक्षाका लागि सचेतना अभियान सञ्चालन गरेकी एकीकृत समाजवादीकी नेतृ कृतु भण्डारीले अहिलेसम्म २५ जना मृतकका परिवारले काजकिरिया गरिसकेको बताएकी छन् । परिवारजनले २५ जनाको काजकिरिया गरि सकेको तर, पुष्टि गर्ने निकाय र परिवारले नभनेसम्म सार्वजनिक गर्न सक्ने अवस्था नभएको उनले जनाईन् । उनले रुसी सेनामा कार्यरत ६ सय १५ जनाभन्दा बढी व्यक्तिका परिवारजन आफ्नो सम्पर्कमा रहेको पनि जानकारी दिइन् ।
‘रुसी सेनामा कार्यरत थप सातजना नेपाली नागरिकले ज्यान गुमाउनुभएको दुःखद समाचार प्राप्त भएको छ,’ परराष्ट्रले विज्ञप्तिमा भनेको छ । धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जितबहादुर विक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तानको निधन भएको परराष्ट्रले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्