नेकपा (एमाले) को केन्द्रीय कमिटीको तेस्रो बैठकमा आज प्रस्तुत भएका प्रतिवेदनमाथि बिहीबार छलफल हुने भएको छ ।
स्थानीय तहको आसन्न निर्वाचनका लागि पार्टीको तयारीलगायत विषयमा छलफल गर्न बोलाइएको सो बैठकमा आज अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन तथा प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ प्रस्तुत भएको पार्टीका उपमहासचिव एवं प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
बैठकमा शपथग्रहण गर्न बाँकी रहेका तीन जना केन्द्रीय सदस्यले पार्टी अध्यक्ष ओलीसमक्ष शपथ लिनुभएको थियो ।
यसैविच एमालेले आसन्न स्थानीय चुनावको प्रारम्भिक अभियानपछि ६ वटा प्रदेशमा पहिलो हुने आँकलन गरेको छ ।
केन्द्रीय कमिटीको बुधवार सुरु भएको बैठकमा सात वटै प्रदेशका अध्यक्षले गरेको रिपोर्टिङले एमाले पहिलो र कांग्रेस दोस्रो स्थानमा देखिएको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बताउनुभयो ।
प्रदेश १ का तुलसीप्रसाद न्यौपाने, मधेस प्रदेशका रामअवतार यादव, वागमतीका केशव पाण्डे, गण्डकीका नवराज शर्मा, लुम्बिनीका राधाकृष्ण कँडेल, कर्णालीका विनोद कुमार शाह र सुदूरपश्चिमका दामोदर भण्डारीले रिपोर्टिङ गर्नुभएको थियो ।
सात वटै प्रदेशका अध्यक्षले गरेको रिपोर्टिङमा शक्ति सन्तुलनका आधारमा प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सूदूरपश्चिम प्रद्शमा एमाले बलियो र कांग्रेस दोस्रो स्थानमा रहेको छ । मधेश प्रदेशमा राजनीतिक संक्रमणको स्थिति भएकाले शक्ति सन्तुलनको स्थिति ठोस रुपमा आउन नसकेको प्रचार विभाग प्रमुख गुरुङले बताउनुभयो ।
कुन प्रदेशको अवस्था कस्तो ?
प्रदेश १ का एमाले अध्यक्ष तुलसीप्रसाद न्यौपाने बैठकमा प्रदेशको अवस्थाबारे रिपोर्टिङ गरेका थिए । उनले पार्टी विभाजनपछि बनेको एकीकृत समाजवादीको असर न्यून रहेको दाबी गर्नुभयो ।
मधेस प्रदेशका अध्यक्ष रामअवतार यादवले प्रदेशमा पार्टीको अवस्थाबारे रिपोर्टिङ गर्नुभयो । तर मधेश प्रदेशमा राजनीतिक संक्रमणको स्थिति भएकाले शक्ति सन्तुलनको स्थिति ठोस रुपमा भने आउन नसकेको गुरुङले बताए । मधेश प्रदेशमा एमालेप्रति आकर्षण बढेकाे र पार्टी प्रवेशको लहर चलेको र पहिलाको भन्दा अवस्थामा सुधार आउँदै गएको दाबी थियो ।
बागमती प्रदेशका अध्यक्ष केशव पाण्डेले रिपोर्टिङ गर्दै स्थानीय तहको चुनावमा ८० सिट जित्ने दाबी गरे । उनले एमालेले स्थानीय तहमा एक्लै प्रतिष्पर्धा गरे उक्त सिट जित्ने दाबी गर्नुभयो । । बागमती प्रदेशका ११९ स्थानीय तहमध्ये एक्लै प्रतिष्पर्धा भए ८० स्थानमा जित्ने उनले दाबी प्रस्तुत गर्नुभयो ।
गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले बैठकमा गरेको रिपोर्टिङ अनुसार पार्टी विभाजनका बावजुद गत स्थानीय तहको चुनावमा भन्दा सिट संख्या बढ्ने छ ।
लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कँडेलले ६५ स्थानीय तहमा जित निकाल्न सकिने दाबी गर्नुभयो ।
कर्णाली प्रदेश अध्यक्ष विनोद कुमार शाहले विगको तुलनामा एमालेले सीट संख्या बढाउने दाबी गर्नुभयो । गत स्थानीय चुनावमा एमाले २७ पालिका जितेको थियो ।
सुदूरपश्चिम प्रदेशका अध्यक्ष दामोदर भण्डारीले आफूहरुको अवस्था २०७४ सालको भन्दा राम्रो रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्