Ads

पूर्व पर्यटन मन्त्री शाही लगायतविरुद्ध दायर भएको मुद्दाको विषयमा कांग्रेसको प्रश्न


सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुईवटा वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको भन्दै पूर्व पर्यटन मन्त्री जीवनबहादुर शाही लगायत ३२ जनालाई प्रतिवादी बनाई अदालतमा दायर भएको मुद्दाको विषयमा नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलले प्रश्न उठाएको छ । आज बिहीबार बसेको प्रदेशसभा बैठकमा कांग्रेसले दल नेता शाहीमाथि षड्यन्त्र भएको बताएको हो ।

दल नेतालाई लगाइएको मुद्दा जुन तरिकाले, जुन समयमा लगाइयो त्यसले आफूहरूलाई संशय उत्पन्न गराएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले बताएका छन् । ‘यो संयोग हो कि षड्यन्त्र हो,’उनले भने, ‘हामीलाई षड्यन्त्रको आभास भइरहेको छ । किनभने जुन बेलामा कर्णालीका तत्कालीन मुख्यमन्त्रीले विश्वासको मत मागिरहनु भएको थियो, त्यहीबेला हाम्रो नेतामाथि मुद्दा उठाइयो ।

सात वर्ष अगाडिको मुद्दा मिसिल र फाइलको खातमा लुकेको त्यो फाइललाई कताबाट उधिनेर, छारो टकटक्याई मुद्दाका रूपमा उठाई अख्तियारले जुन मुद्दा चलाउने निर्णय लियो यो संयोग नभई षड्यन्त्र हो भन्ने हामीलाई लागेको छ ।’यो विषयप्रति कांग्रेसले खेद प्रकट गरेको छ । साथै उनले नेपाल सरकारले अहिले राज्य आतङ्क सिर्जना गरिरहेका बताएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू