काठमाडौं । नेपाल र चीनबीच विभिन्न समझदारी पत्रमा हस्ताक्षर भएको छ । तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र परराष्ट्रमन्त्री डा. नारायण खड्काको उपस्थितिमा ९ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौतामा आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी सम्झौता, चीन–नेपाल क्रस बोर्डर रेलवे परियोजनाको सम्भाव्यता अध्ययनका लागि चिनियाँ सहायता, ऊर्जा तथा जलस्रोत क्षेत्रमा सहयोग सम्झौता (चीन–नेपाल पावर ग्रिड इन्टरकनेक्शनको सम्भाव्यता अध्ययन) का लागि समझौता भएको छ ।
यस्तै भन्सारको सामान्य प्रशासन सम्बन्धी प्रोटोकल (नेपालबाट चीनमा सुरक्षित तवरमा हेलेज निर्यात), भन्सार छुट गराउने सम्बन्धी एक्सचेन्ज पत्रमा हस्ताक्षर, अरनिको राजमार्ग मर्मतसम्भार परियोजनाको हस्तान्तरण, रेल क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने, चीनको नेशनल रेलवे प्रशासनले नेपालको रेल क्षेत्रमा सहयोग बढाउने र नेपाललाई कोभिड–१९ खोप वितरण र स्वीकृति प्रमाणपत्रमा हस्ताक्षर भएको छ ।
त्यस्तै सिंहदरबारमा चीनका विदेशमन्त्री वाङ यी र परराष्ट्रमन्त्री खड्काबीच दुईपक्षिय सम्बन्धमा विषयमा छलफल भएको थियो ।
परराष्ट्रमन्त्री खड्का नेतृत्वको २५ सदस्यीय प्रतिनिधिमण्डलमा परराष्ट्र, अर्थ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, कृषि तथा पशुपन्छी विकास, उद्योग वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार तथा यातायात, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवसहित परराष्ट्र मन्त्रालयका उच्च अधिकारी सहभागी थिए ।
विदेशमन्त्री वाङ नेतृत्वको १७ सदस्यीय प्रतिनिधि मण्डलमा नेपालका लागि चीनका राजदूत हाउ यान्छी, चीनको विदेश मन्त्रालयका सहसचिव वु जिङवाओ, वाणिज्य मन्त्रालयका सहसचिव शेङ कुपिङ, विदेश मन्त्रालयको एसियाली मामिला विभागका महानिर्देशक लिउ जेनसङ, नायब शिष्टाचार महानिर्देशक सोङ जिया र विदेशमन्त्री याङका सचिव देङ झेइ रहेको उपस्थितिपनि परहेकाे थियाे ।
प्रतिक्रिया दिनुहोस्