काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ लाई चुनाव हुन नदिने पाँच दलीय गठबन्धनको षड्यन्त्रको मतियार नबन्न सुझाव दिएका छन् ।
चुनाव सार्न खोजिएको संकेत गर्दै ओलीले भने– म विप्लवजीलाई आग्रह गर्न चाहन्छु तपाई षडयन्त्रकारी होइन इमानदार नेता भनेर बनाएको छवि नबिगार्नुस् । कतै पाँच दलीय गठबन्धनको षडयन्त्रको सिकार भएर विप्लवजीहरू मौका पाए चुनाव लड्छौँ भन्ने बहाना बनाइरहेको त छैन ?
अध्यक्ष ओलीले नेकपा एमाले ललितपुरले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा सत्ता गठबन्धन विप्लवको बहाना देखाएर चुनाव सार्ने खेलमा लागेको र अध्यादेशमार्फत कानून ल्याउने षड्यन्त्र भइरहेको बताए ।
ओलीले भने ‘लोकतन्त्र समाप्त पार्न, २०५९ सालमा पनि अहिलेका सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाजीले पहिला स्थानीय निकाय रिक्त बनाउनुभएको थियो,अनि प्रतिगमनमा पुर्याउनुभएको थियो । स्थानीय निकाय रिक्त बनाउने उहाँ नै हुनुहुन्थ्यो ।’
ओलीले विप्लवका नेता कार्यकर्तालाई रिहा गर्न र चुनावको वातावरण बनाउन केहीले नरोकेको भन्दै यही बहानामा वैशाख ३० गते निर्धारित चुनाव सार्न नमिल्ने र नपाइने बताए ।
प्रतिक्रिया दिनुहोस्