काठमाडौं । भारतीय दूतावासमा भएकाे रात्री भाेजमा प्रधानमन्त्री शेरबहादुर देउवा,पूर्व प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्ड, पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी भएपनि एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री तथा नेकपा एसका नेता झलनाथ खनाल भने गएनन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले लैनचौरस्थित भारतीय दूतावासमै पुगेर राजदूत बिनयमोहन क्वात्रालाई बिदाइ भेट गरे ।
मंगलबार साँझ गठबन्धन बैठक चलिरहेकै बेला बालुवाटारबाट बाहिरिएका देउवा भारतीय दूतावासमा पुगेका थिए ।
भारतीय विदेश सचिवमा बढुवा भएर दिल्ली फर्किन लागेका क्वात्रालाई बिदाइ गर्न आयोजित रात्रीभोजमा सहभागी हुन देउवा दूतावास गएको बताइएको छ । दूतावास स्रोतले भने बिदाइका अवसरमा क्वात्राले रात्रीभोज आयोजना गरेको र त्यसमा प्रधानमन्त्री पनि सहभागी भएको बताए ।
रात्रीभोजमा पूर्व प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सहभागी थिए । बालुवाटारमा बैठक चलिरहेका बेला शीर्ष नेता बाहिरिएर दूतावास पुगेका हुन् ।
रात्रीभोजमा निम्ता गरिए पनि एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली भने प्रोटोकलका कारण दूतावास गएनन् । पूर्व प्रधानमन्त्री तथा नेकपा एसका सम्मानित नेता झलनाथ खनाल पनि गएनन् ।
प्रतिक्रिया दिनुहोस्