रुपन्देही । अपाङ्गता भएकै कारण लुम्बिनीकी सुनिता यादव यसअघि भएका निर्वाचनमा मतदान गर्नबाट बञ्चित भइन् ।
लुम्बिनी सांस्कृतिक नगरपालिका–१० लक्ष्मीपुरकी यादवको खुट्टाले काम नगर्ने भएका कारण वैशाखीको सहारामा मतदानस्थलमा पुग्न सकस थियो । मतदानस्थलसम्म आवात जावतका लागि सवारी साधनको व्यवस्थासमेत नभएपछि उनी निर्वाचनमा सहभागी हुन पाइनन् ।
‘मेरो हिँडन सक्ने अवस्था थिएन त्यसैले भोट हाल्न पाइनँ, अहिले पनि भोट हाल्ने ठाउँसम्म पुग्न सक्दिनँ तर आउने-जाने साधनको व्यवस्था भए अबको चुनावमा भोट हाल्ने रहर छ,’ उनले सुनाइन् ।
लुम्बिनी–३ पडेरियाकी पुष्पा विश्वकर्मा पनि अपाङ्गता भएकै कारण मतदानको अधिकारबाट बञ्चित हुँदै आएकी छन् । पूर्ण अपाङ्गता भएका कारण विस्तारामै भएकाले निर्वाचनमा भोट हाल्न जान नपाएको उनको दुःखेसो छ ।
‘चुनाव आयो भन्छन्, म त भोट हाल्न जान सक्दिनँ, अरुले लैजाँदैनन्,’ उनले भनिन् ।
लुम्बिनी–१० का नेत्रबहादुर चुँदालीलाई यसपटकको चुनावमा पनि भोट हाल्न पाइँदैन भन्ने छ । गत निर्वाचनमा मताधिकार प्रयोग गर्न नपाएका चुँदाली कसैले जाने–आउने व्यवस्था गरे भोट दिन इच्छुक रहेको बताउँछन् । ‘मतदाता नामावलीमा नाम छ तर दुवै खुट्टा राम्रोसँग नचल्ने भएकाले भोट हाल्न जानसक्ने अवस्था छैन,’ उनी भन्छन् ।
वडा नं १० कै सुराती धोबी, बबिता थारू, मार्कान्डे थारू र फूलमाया थापा पनि अपाङ्गता भएकै कारण मतदानस्थलसम्म पुग्न नसक्दा मताधिकारबाट बञ्चित हुँदै आएका छन् । मतदाता नामावलीमा नाम भएर पनि यसपटकको चुनावमा समेत भोट हाल्न नपाउने हो कि भन्ने चिन्ता उनीहरूलाई छ ।
अपाङ्गता भएकै कारण निर्वाचनमा सहभागी हुन नसकेका अपाङ्गता भएकाहरू धेरै छन् । मतदान दिएकाले पनि निकै कष्ट खेपेर मतदानस्थल पुग्नुपरेको अनुभव उनीहरूसँग छ । त्यसो त अझै पनि अधिकांश अपाङ्गता भएकाहरूको मतदाता नामावली नै नभएको राष्ट्रिय अपाङ्ग महासङ्घको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्