काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व वातावरण दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति कार्यालयबाट जारी गरिएको सन्देशमा संयुक्त राष्ट्रसङ्घको आह्वानमा ५० वर्ष अघिदेखि मनाउन थालिएको ‘विश्व वातावरण दिवस’को सान्दर्भिकता हरेक वर्ष बढ्दै गएको भनिएको छ ।
प्रकृतिको स्वभाविक सन्तुलनमाथि नकारात्मक दबाब उत्पन्न गर्ने मानवीय क्रियाकलापका कारण पृथ्वीको पारिस्थितिक प्रणाली, वर्षाचक्र र जलवायु सन्तुलनमा अस्वाभाविक परिवर्तन आउन थालेको वैज्ञानिक प्रमाण उपलब्ध भएसँगै वातावरण दिवसप्रतिको संवेदनशीलता वृद्धि भएको सन्देशमा उल्लेख गरिएको छ ।
जलवायु परिवर्तनले विश्वव्यापी सङ्कटको स्वरूप ग्रहण गरिरहेको परिवेशमा प्रकृति र मानव सभ्यताको दिगो सहअस्तित्वका लागि ‘केवल एउटै पृथ्वी’ भन्ने मूल विषयमा आधारित भई यस वर्षको विश्व वातावरण दिवस मनाइँदैछ ।
ुहामीसँग पृथ्वीजस्तो सजीव ग्रह एउटै मात्र भएकाले प्रकृतिका अन्य अवयवहरूको संरक्षण गर्दै सबैखाले प्राकृतिक स्रोतको दिगो उपभोगका लागि जीवनशैलीमा परिवर्तन ल्याई स्वच्छ र हरित मानवीय जीवन पद्दतिको विकास गर्ने कुरा आज प्रमुख चुनौतीको रूपमा रहेको छ, राष्ट्रपतिको सन्देशमा उल्लेख छ ।
सन्देशमा ुवातावरण संरक्षणको क्षेत्रमा हामीले अन्तर्राष्ट्रिय, राष्ट्रिय र स्थानीयस्तरमा विभिन्न नीति योजना तथा कार्यक्रमहरू निर्माण गरी तिनको कार्यान्वयनका लागि आवश्यक कानुन र संस्थागत संरचनाहरूसमेत निर्माण गरेका छौँ ।
हाम्रा राष्ट्रिय प्रतिबद्धताहरू विभिन्न समयमा अभिव्यक्त भएका छन् । नेपाल आफैँ ठूलो मात्रामा कार्बन उत्सर्जन गर्ने राष्ट्र नभएता पनि हाम्रा हिमालहरू पग्लने क्रम बढेको छ, पानीका मूलहरू सुक्दै गइरहेका छन्, हाम्रा नदी र प्राणवायुले प्रदूषणको शिकार हुनु परिरहेको छ ।
हाम्रोजस्तै अन्य पर्वतीय मुलुकहरूले भोग्नुपरेको सङ्कटको प्रवृत्ति उस्तै छ भने टापु राष्ट्रहरूले सम्भावित अस्तित्वको सङ्कट झेल्नु परिरहेको छ, उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्