Ads

बगर बन्यो लाखौ आम्दानीको श्रोत


दमक \केहि वर्ष अघि सम्म उपयोगमा आउन नसकेका झापाका खोला बगरहरु अहिले किसानको बलियो आम्दानीको श्रोत बनेका छन् । बगरमै हुन सक्ने खरबुजा खेती किसानको विकल्प बनेसँगै उपयोग विहिन बगर पनि आम्दानीको श्रोतबनेको हो ।

झापाका खोला बगरमा फलेको खरबुजा काठमाडौँका सुपरमार्केट र पाँचतारे होटलमा पुग्ने गरेको छ । झापाका मेची, निन्दा, बिरिङ, रतुवा र मावा खोलाको बगरखेतमा किसानले खरबुजा फलाउने गरेका छन् ।

मेचीनगर १५ स्थित मेची नदी बगरमा लीला खनाल र हरि नेपालले १३ बिघा क्षेत्रफलमा खरबुजा खेती गरेका छन् । नेपाली बाबु स्मार्ट कृषि फार्म दर्ता गरेर उनीहरुले सुरु गरेको बगर खेतीमा तीन सय ५० मेट्रिक टनभन्दा बढी खरबुजा फलेको छ ।

चैतको अन्तिम सातादेखि पाक्न थालेको खरबुजा वैशाख र जेठभरिमा बिक्री भइसक्छन् । व्यापारीले फार्ममै आएर खरबुजा किनेर लैजाने गरेका छन् । निजी सवारी लिएर किन्न आउने ग्राहकको बगरमा भीड लाग्ने गरेको छ । यहाँबाट सस्तोमा किनेर लैजाने व्यापारीले बजारमा मूल्य बढाएर बेच्ने गर्छन् ।

खरबुजा बेचेर रु ८० लाखदेखि ९० लाखसम्म आम्दानी गर्ने लक्ष्य फार्म सञ्चालक खनालको छ । दैनिक चारदेखि आठ टनसम्म खरबुजा बिक्री भइरहेको छ । उनले भारतबाट सस्तो र गुणस्तरीहिन खरबुजा भित्रिएका कारण बजारमा चुनौती थपिएको बताए । भारतबाट गुणस्तर नजाँची भित्रिने खरबुजालाई भन्सार र क्वारेन्टाइन कार्यालयले कडाइका साथ रोक्नुपर्ने नेपाली किसानको माग छ ।

यस्तै कनकाई ५ का फुलु मण्डलले कनकाई नदीको बगरमा तीन बिघा जग्गा भाडामा लिएर खरबुजा खेती गरेका छन् । उनले बगरखेतीमा खरबुजा लगाएको १५ वर्ष भइसकेको छ । तीन बिघामा खरबुजा लगाउन १२ लाख लगानी गरेको उनको भनाई छ । उनले खरबुजाबाट आम्दानी गरेको देखेर धीरेन मण्डल, दशरथ मण्डल, पाण्डव मण्डल र जनार्दन मण्डललेसमेत कनकाईमा खरबुजाको बगरखेती गरेका छन् ।

 

Ads

सम्बन्धित पोष्टहरू