Ads

नेपाली कलासंस्कृति चिनियाँ कलासंस्कृतिसँग मिल्दोजुल्दो : चिनियाँ नेता ली


भक्तपुर । नेपालको चारदिने औपचारिक भ्रमणमा रहनुभएका चिनियाँ जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले बुधबार भक्तपुरको ऐतिहासिक सम्पदाहरूको अवलोकन गर्नुभएको छ ।

बुधबार बिहान ९ः२० बजे ऐतिहासिक विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार स्क्वायर पुग्नुभएका अध्यक्ष लीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, सङ्घीय सांसद प्रेम सुवाल, बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईं, सृजना गोसाईं, नगरपालिकाका उपप्रमुख रजनी जोशी, भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालगायत नगर कार्यपालिकाका सदस्यहरूले स्वागत गर्नुभएको थियो ।

अध्यक्ष लीसहित उहाँको नेतृत्वको प्रतिनिधिमण्डलका सदस्यहरूले नगरपालिकाले उहाँको स्वागतमा दरबार स्क्वायरको डबलीमा प्रदर्शन गरेको ऐतिहासिक भैरव प्वाँख नाचको अवलोकन गर्नुभएको थियो । अध्यक्ष लीले यो नाचले चिनियाँ संस्कृति सम्झाएको भन्दै चीन र नेपालको संस्कृति मिल्दोजुल्दो रहेको बताउनुभएको थियो ।

उहाँले भक्तपुर दरबार स्क्वायर, पचपन्न झ्याले दरबार, स्वर्णद्वारा, सुनधाराको अवलोकन गर्नुभएको थियो । पचपन्न झ्याले दरबारको बनावटलाई निकै चासोका साथ अवलोकन गर्दै उहाँले यहाँका सम्पदाहरूमा भूकम्पले पुर्‍याएको क्षतिबारे पनि जानकारी लिनुभएको थियो ।

अध्यक्ष लीलाई भक्तपुर नगरपालिकाका पर्यटन सूचना केन्द्रका प्रमुख गौतम लासिवाले भक्तपुरको सम्पदाहरूमा भूकम्पले पुर्‍याएको क्षतिबारे जानकारी गराउनुभएको थियो । भक्तपुरका भूकम्पले क्षति पुर्‍याएको ८० प्रतिशत सम्पदाहरूको पुनर्निर्माण सम्पन्न भएको जानकारी गराउनुभएको थियो ।

अध्यक्ष लीले यहाँको पुनर्निर्माणमा विदेशी दातृ निकायको सहयोगबारे जिज्ञासा राख्नुभएको जानकारी दिँदै प्रमुख लासिवाले भक्तपुर नगरभित्रका सम्पदाको पुनर्निर्माणमा कुनै पनि विदेशी दातृ निकायको सहयोग नलिएको र नगरपालिका, नेपाल सरकार एवम् स्थानीयवासीको सहयोगमा सम्पदा पुनर्निर्माण गरिएको जानकारी गराउनु भएको थियो ।

प्रतिनिधिमण्डलका सदस्यहरूले नगरपालिकाले हालै पुनर्निर्माण सम्पन्न गरेको सिलु महादेव (फसीदेग)को अवलोकन गरेपछि पैदल नै पाँचतले मन्दिर पुगेर त्यहाँको अवलोकन गर्नुभएको थियो । अध्यक्ष लीले पाँचतले मन्दिरमा भूकम्पले क्षति नपुर्‍याउने गरी बलियोसँग कसरी बन्यो होला भन्ने जिज्ञासासमेत राख्नुभएको प्रमुख लासिवाले जानकारी दिनुभयो ।

पाँचतले मन्दिर र सँगैको भैरव मन्दिरको बनावट, निर्माणमा परम्परागत सामग्रीको प्रयोग तथा यहाँका पुराना वास्तुविद्को योजनाअनुसार निर्माण भएकाले क्षति नपुगेको प्रमुख लासिवाले जानकारी गराउनु भएको थियो ।

टौमढीमा नगरपालिकाले यहाँका सम्पदा, कला, संस्कृति र नाचका तस्बिरहरू प्रदर्शन गरेको थियो । तस्बिरहरूको अवलोकनका क्रममा अध्यक्ष लीलाई लासिवाले नयाँ वर्षमा बिस्केट जात्रा मनाउने यही ठाउँ रथ, जात्राको सञ्चालनबारे जानकारी गराउनु भएको थियो । यहाँका विभिन्न जात्रा, पर्व जात्रादेखि आज मनाइने पुलु किसी जात्राबारे समेत जानकारी गराउनु भएको थियो ।

जात्रा, पर्व, नाचहरूका बारेमा जानकारी लिएपछि अध्यक्ष लीले नेपालका धेरै कला, संस्कृति, नाच र परम्पराहरू चीनको संस्कृतिसँग मिल्दोजुल्दो रहेको बताउँदै विश्वका विभिन्न देशका संस्कृति र यहाँको संस्कृतिका केही पक्षहरूमा समानता रहेकोसमेत बताउनु भएको थियो ।

पाँचतले मन्दिरको अवलोकनपछि बिदाइका क्रममा हेर्न बसेका स्थानीयलाई अध्यक्ष लीले नेपाली भाषामै नमस्ते भनेर सम्बोधन गर्नुभएको थियो । बिदाइका क्रममा अध्यक्ष लीसहितको प्रतिनिधिमण्डललाई नगरपालिकाका तर्फबाट मयूर झ्याल, नगरपालिकाका विभिन्न प्रकाशनहरू प्रदान गरिएको थियो । कोभिड–१९ को सङ्क्रमणलाई ध्यान दिँदै नगरपालिकाले ती उपहारहरू हातमा नदिई एकमुष्ट प्रदान गरिएको थियो ।

अध्यक्ष लीले नगरप्रमुख प्रजापति, सङ्घीय सांसद सुवाल लगायतलाई उपहार प्रदान गर्नुभएको थियो । टोलीले भक्तपुरको एक घण्टासम्मको अवलोकन सकेर बिहान १०ः२० बजे फर्किएको थियो ।

अध्यक्ष लीले आजै अपराह्न ४ बजे शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसअघि उहाँले मङ्गलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । उहाँले मङ्गलबार नै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । मङ्गलबार नै दिउँसो परराष्ट्रमन्त्री डा. नारायण खड्काले अध्यक्ष लीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।

सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा सोमबार विशेष विमानबाट नेपाल आउनुभएका उहाँले सोही दिन सभामुख सापकोटासँग प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय भेटवार्ता गरी सहयोगसम्बन्धी छ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

अध्यक्ष ली नेतृत्वमा छ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको मन्त्रालयले जनाएको छ । अध्यक्ष ली भ्रमण सम्पन्न गरी शुक्रबार विशेष विमानबाट स्वदेश फर्कनुहुने कार्यक्रम छ । रासस

Ads

सम्बन्धित पोष्टहरू