Ads

‘नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादकाे चटनी’


काठमाडौं  । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका छन् । पोखरेलको नयाँ औपन्यासिक कृति ‘उर्वरा’ सार्वजनिकीकरण कार्यक्रममा समीक्षा गर्दै उनीहरुले यसमा समेटिएको विषयबस्तु पठनीय भएको जनाए ।

काठमाडौंमा नेपाल स्रष्टा समाजद्वारा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार नगेन्द्रराज शर्माले नौलो शैलीमा लेखिएकोे उपन्यास उत्कृष्ट भएको जनाए । उपन्यासमार्फत लेखकले प्रयोगसहित नयाँ सन्देश दिन खोजेको बताउँदै शर्माले सफलताको शुभकामना दिएका थिए ।

कथाकार माया ठकुरीले उपन्यासले समाजको यर्थाथताको संकेत गरेको जनाइन् । ठकुरीले भनिन्,’सबै साहित्यकारहरु आनन्दमयी किसिमले एउटै डुंगामा सयर गरिरहेका छन्, तिनीहरुमध्ये उपन्यासकार पोखरेल पनि एक हुन् ।’

समिक्षक अनुपमा रेग्मीले उर्वर शब्दलाई लाक्षणिक रुपमा बुझ्नुपर्ने जनाउँदै उपन्यासको सुरुवात र अन्त्य एकदमै सान्दर्भिक भएको जनाइन् । आख्यानमा रुची राख्नेका लागि उपन्यास एकदमै गज्जब भएको जनाउँदै उनले भनिन्,’३५२ पेजको यस उपन्यासले पाठकको सजिलै मन तान्छ, ‘उर्वरा’ आदर्शवादी उपन्यास हो ।’ रेग्मीले प्रष्ट पार्दे भनिन्, “उपन्यास पठनीय छ । यस कृतिमा पाठकले आख्यानात्मकता प्रचुर मात्रामा पाउँछन् ।”

उपन्यास समाजका अध्यक्ष शंकर भारतीले ‘उर्वरा’ ले ६० वर्षअघिको र आजको समयलाई जोड्ने काम गरेको टिप्पणी गरे । यस उपन्यासले पूर्वको विराटनगर, सुनसरीलगायतका ठाउँको परिचय समेट्नुका साथै ती दिनका कलेज जीवनको याद दिलाउने जनाए । पोखरेलले लेखेको उपन्यासमा संस्कृति तथा परम्पराले प्रेम गर्ने जोडीमा प्रभाव पारेको र विछोडिएको अवस्थाको चित्रण भएको भनाइ राखे । ‘४२ वर्षको पुरुषले १२ वर्षीया बालिकासँग बिहे गरेको उपन्यासभित्रको एउटा दृष्टान्त हो’,उनले भने । उपन्यासकारका भाइ भेषराज पोखरेलले आफ्नो सारा परिवार साहित्यनिकट रहेको सुनाए । दाजुले लेखेको उपन्यासमा पाठकले कोमलता भेट्ने उनको भनाइ छ ।

उर्वर उपन्यासका लेखक नारद पोखरेलले बीपी कोइरालासँगको छोटो संगतले आफूलाई साहित्यमा लाग्न अभिप्रेरित गरेको जानकारी गराए । आफ्नो परिवारका सबै सदस्यहरु साहित्यमा रुची राख्ने भएकाले पनि आफूलाई यस विधामा लाग्न प्रेरित गरेको उनको भनाइ छ । उपन्यासकार पोखरेलले भने, ‘हाम्रो घरमा साहित्यिक माहोल थियो, आमा, भाइ र म कवितामै बोल्ने गर्थ्याे ।’

सष्टा समाजका सल्लाहाकार एवम् साहित्यकार विधान आचार्यले उपन्यासको कहानीले कहिले स्वदेश त कुनैबेला विदेश घुमाएको जनाए । उपन्यासको प्रत्येक खण्डमा बेग्लाबेग्लै विषय हुनु एउटा नौलो प्रयास भएको उनको भनाइ थियो । नेपाल गीतकार संघका अध्यक्ष वसन्त थापा, स्रष्टा समाजका संरक्षक पवन आलोक, माधव विडारीलगायतले उर्वरा पठनीय भएको दाबी गरे । उपन्यास लोकार्पण कार्यक्रमको उद्घोषण गर्दै देवीराज तिमल्सिनाले उपन्यासकार पोखरेलका कृतिहरुका सम्बन्धमा पनि चर्चा गर्नु भएको थियो । वरिष्ठ साहित्यकार नगेन्द्रराज शर्मा र कथाकार माया ठकुरीले संयुक्तरुपमा पोखरेलको कृति ‘उर्वरा’को लोकार्पण गरेका थिए ।

‘उर्वरा’उपन्यासमा जयन्त र शिल्पाको प्रेम कथा समेटिएको छ । तर सांस्कृतिक भिन्नताले उनीहरुबीच विछोड हुने बाध्यता हुन्छ । जयन्तसँग विछोड भएपछि शिल्पाको आफूभन्दा २० वर्ष जेठो केटासँग विहे हुन्छ । २० वर्ष जेठो मान्छेले रानीजस्तो बनाएर राखे पनि शिल्पाको मन बेचैन हुन्छ र एक्लै बस्नुपर्ने अवस्था हुन्छ । यसरी उपन्यासमा विभिन्न रोचक तानाबानाका साथ गज्जबको काल्पनिक कथा बनाइएकाे छ । पोखरेलले विगत ३० वर्षदेखि कविता लेख्न सुरु गरेका थिए । उनका चारवटा आख्यान कृति प्रकाशित भइसकेका छन् । ‘उर्वरा’ उपन्यास पाँचौं कृति हो । उर्वरा पोखरेलको चौथो उपन्यास हो । उनले यसअघि ‘नयाँ बाटो’, ‘सिर्जना’ र ‘प्रतिघात’ उपन्यास बजारमा ल्याइसकेका छन् ।

 

Ads

सम्बन्धित पोष्टहरू