लमजुङ । लमजुङका गुरुङ समुदायले तमु नयाँ वर्षको रुपमा तामझाँमका साथ विविध कार्यक्रम गरि ल्होसार पर्व मनाएका छन् । वर्गचक्र फेरिएसँगै गुरुङ समुदायले नयाँ वर्षको रुपमा तमु ल्होसार मनाउने गर्दछन् ।
गुरुङहरूले तो ल्हो अर्थात बाघ वर्गलाई बिदा गरी हे ल्हो अर्थात बिरालो वर्गलाई स्वागत गर्दै ल्होसार मनाएका छन् । एकसातादेखि नै ल्होसारको रौनक छाएको लमजुङमा शुभकामना आदाप्रदान, चियापान, साँस्कृतिक कार्यक्रमका साथ ल्होसारको स्वागत तथा स्योकै लगायतका कार्यक्रम हुँदै आएका थिए ।
ल्होसारको मुख्य दिन शुक्रवार तमु ह्युला छोँज धि गुरुङ राष्ट्रिय परिषद् बेँसीशहर इकाईले वृहत शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम गरेको थियाे ।
कार्यक्रममा नवनिर्वाचित प्रधिनिधिसभा सदस्य पृथ्वीसुब्बा गुरुङ र प्रदेशसभा सदस्य भेषवहादुर पौडललाई इकाई, टोल समूहले सम्मान गरेका थिए । कार्यक्रमका अवसरमा बेँसीशहर इकाई अन्तर्गतका पाँच वटा टोल समूह, तमु प्लु संघ र तमु विद्यार्थी छोँज धिले जातिय भेषभुषासहित नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा पाँच वटा टोलको फरकफरक परिकारसहित स्योकै कार्यक्रम समेत भएको थियो ।
सदरमुकाम बेँसीशहरसहित उदिपुर, चिसापानी भुजुङ, घनपोखरा, ताघ्रिङ, घेर्मु, पसगाउँ, सिउरुङ, ढंगै, राईनास, पाचोक, इलमपोखरी लगायतका गाउँमा विविध कार्यक्रम गरी धुमधामका साथ ल्होसार मनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्