मुम्बई । बलिउड अभिनेता नवाजुद्दिन सिद्दीकी र उनकी पत्नी आलिया सिद्दिकीबीच लामो समयदेखि विवाद चलिरहेको छ । यो सबै कुराबाट दिक्क भएर नवाजुद्दिन घर छोडेर होटलमा बस्न बाध्य छन् । आलिया र नवाजकी आमाबीच सम्पत्तिलाई लिएर विवाद भइरहेको छ ।
यो मामलामा प्रहरीसम्म पुगेको छ । केही दिनअघि नवाजकी आमाले आलियाविरुद्ध उजुरी दिएकी थिइन् । नवाजुद्दिनका एक साथीका अनुसार नवाजुद्दीनका वकिलले घरको यो विवाद समाधान नगरुञ्जेल नवाजुद्दिन होटलमै बस्नुपर्नेछ । गत वर्षमात्र १३ करोडमा घर किनेका नवाजुद्दीन अहिले घर छोडेर होटलमा बस्न बाध्य छन् ।
नवाजको नयाँ घर मुम्बईको वर्सोवामा छ । उनले यो घरलाई रिनोभेट गर्न ३ वर्ष लगाएका थिए । यसलाई उनी ‘सपनाको महल’ मान्छन् । नवाजले १० करोड रुपैंयाँमा जमिन किनेका थिए । उनले घर बनाउनमा ३ करोड खर्च गरेका थिए । नवाज अधिकांश समय घरमै बिताउँछन् । उनको घरमा ५ बेडरुम, २ सर्वेन्ट रुम, १ थिएटर, १ आलिसान लिभिङ रुम र १ किचन छ । उनले पिताको सम्झनामा घरको नाम ‘नवाब’ राखेका छन् ।
नवाजलाई केही दिनअघिमात्र मुम्बई अदालतले नोटिस पठाएको थियो । ‘आलिया उनको कानूनी रुपले विवाहित पत्नी हुन् र उनी हरेक स्थानमा यही भन्छिन् । घरमा सीसीटीभी क्यामरा लगाएपछि त्यहाँ बडीगार्ड पनि छन् । जो आलियालाई बाथरुमसम्म जान पनि रोकिरहेका छन् । यस्तो अवस्थामा नवाजमाथि घरेलु हिंसाको मामला बन्छ । किनकी आलियाले कैयौं दिनसम्म खानसमेत पाएकी छैनन् । उनीमाथि मानसिक, भावनात्मक, शारीरिक र आर्थिक अवरोध गरिएको छ’, आलियाका वकिलले भनेका छन् ।
प्रतिक्रिया दिनुहोस्