Ads

दोर्दीको दाम्राङमा ऐतिहासिक दाम्राङ मेला सुरु


लमजुङ । दोर्दी गाउँपालिकाको ऐतिहासिक पर्यटकीयस्थल दाम्राङमा दाम्राङ मेला २०८० सुरु भएको छ । नयाँ वर्षको अवसरमा यहाँ मेलाको आयोजना गरिएको हो ।दोर्दी गाँउपालिका ४ मा रहेको उक्त ठाउँमा वडा नं. ५ को फोर्जुङस्थित कैलाश युवा क्लवले मेलाको आयोजना गरेको हो । मेलाको बैशाख १ गते दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले एक कार्यक्रमबीच उद्घाटन गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले पर्यटनबाट आर्थिक समृद्धि गर्न सकिने र खेलका माध्ययमबाट पर्यटन प्रवद्र्धन गर्न सकिने बताए । उनले युवाको जोश र जाँगरलाई पर्यटन प्रवद्र्धन र आर्थिक समृद्धिमा जोड्न आग्रह गरे । उपाध्यक्ष विच्छबहादुर घलेले युवामा नयाँ जोस र जाँगर हुने र यसलाई सदुपयोग गर्न आग्रह गरे । गाउँपालिकाले युवालाई खेलकुदलगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको उनले बताए  ।

मेला अन्तर्गत बैशाख १ गतेदेखि खुला पुरुष तथा महिला फुटवल प्रतियोगिता सुरु भएको आयोजक कैलाश युवा क्लवका अध्यक्ष भीमसेन गुरुङले बताए  । उनका अनुसार प्रतियोगितामा प्रथम हुने टीमले १ लाख १० हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्र पाउनेछन् । द्वितीय हुनेले ६० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र पाउनेछन् । उत्कृष्ट खेलाडी र सार्वधिक गोलकर्तालाई ३/३ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिने उनले बताए ।

महिला फुटवलतर्फ प्रथम हुनेलाई २० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र दिइनेछ । द्धितीय हुनेलाई १० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र दिइने भएको छ ।  क्लवका सचिव गौचन गुरुङका अनुसार मेलाको अवसरमा बैशाख ३ र ४ गते राष्ट्रिय तथा स्थानीय कलाकारको साँस्कृतिक प्रस्तुति रहनेछ । माया गुरुङ, मञ्जु विक, प्रशान्त तामाङ, संगीता गुरुङ, अस्मिता गुरुङ, ज्ञानेन्द्र गुरुङलगायत कलाकारको प्रस्तुति रहने र केही कलाकारले उद्घाटनकै दिनमा आफ्नो प्रस्तुति दिएको उनले बताए  ।

Ads

सम्बन्धित पोष्टहरू