काठमाडौं । नेपाल नेत्रज्योति सङ्घ, गेटा आँखा अस्पतालले सुदूरपश्चिका विभिन्न स्थानीय तहसँगको सहकार्यमा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । ती दुई निकायले डोटीको दुई र अछाम जिल्लाका एक स्थानीय तहमा आँखा शिविर सञ्चालन गरेको हो । ती आँखा शिविरमार्फत एक हजार एक सय ४१ बिरामीको निःशुल्क आँखा परीक्षण गरी १८८ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रियासमेत गरिएको सङ्घले जनाएको छ ।
पहुुँच र पैसाको अभावमा कोही पनि नागरिक दृष्टिविहीन भएर बस्न नपरोस् भन्ने ध्येयले सङ्घले देशका विभिन्न क्षेत्रमा निःशुल्क आँखा शिविर सञ्चालन गर्दैै आइरहेको छ । सो अस्पतालका नेत्र अधिकृत नरेन्द्रराज विष्टले यही जेठ १५ र १६ मा गते डोटीको सायल गाउँपालिकामा सम्पन्न आँखा शिविरमा तीन सय ५१ जनाको निःशुल्क आँखा परीक्षण गरी मोतियाविन्दु देखिएका ७३ बिरामीको निःशुल्क शल्यक्रियासमेत गरिएको जानकारी दिए ।
त्यस्तै डोटीकै बोगटान फुटसिल गाँउपालिकामा जेठ २१ र २२ मा सम्पन्न शिविरमा तीन सय ९३ जनाको आँखा परीक्षण गरी ६० जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएकोे उनले बताए । त्यसैगरी यही जेठ १८ र १९ गते अछामको मेल्लेख गाउँपालिकामा सम्पन्न शिविरमा तीन सय ९७ जनाको निःशुल्क आँखा जाँच गरी मोतियाविन्दु देखिएका ५५ जना बिरामीको निःशुल्क शल्यक्रियासमेत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्