Ads

भदौ १७ गते अमेरिकामा नेफ्टा फिल्म अवार्ड आयोजना हुने


काठमाडौं । अमेरिकामा आयोजना हुन लागेको ११ औं नेफ्टा फिल्म अवार्डको मिति सरेको छ । यसअघि साउन ६ गते (जुलाई २२) हुने भनिएको अवार्ड भदौ १७ गते (सेप्टेम्बर ३) मा हुने भएको छ । चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाका अनुसार आवश्यक तयारी नपुगेकाले अवार्ड समारोह सारिएको हो ।

‘हामी कार्यक्रमलाई भब्य बनाउने तयारीमा जुटिरहेका छौं । पछिल्लो समय कार्यक्रम रोकियो भन्ने कुरा आइरहेको छ । तर हामीले कार्यक्रम रोकेका होइनौं,’ उनले भने, ‘कलाकारहरूले अन्तर्वार्ताका लागि समय पाएका छैनन् । अन्तर्वार्तापछि भिसा पाउने नपाउने तय हुन्छ । तर यहाँ कलाकारले भिसा पाएनन् भनेर हल्ला फैलाइएको छ । फिल्म क्षेत्रलाई अगाडि बढाउन फिल्मकर्मीको साथ सहयोग चाहिन्छ । कार्यक्रममा आफू जान नपाएपछि कार्यक्रम हुनै नदिने एक जमात छ त्यसबाट हामी जोगिनुपर्छ ।’

टेक्ससको ड्यालसमा अवार्ड समारोह तय गरिएको छ । यसअघि उपराष्ट्रपति रामसहाय प्रसाद यादवको प्रमुख आतिथ्यतामा आयोजित समारोहमा पाँच उत्कृष्ट मनोनयन घोषणा भइसकेको छ । अवार्डमा २०७९ सालभित्र प्रदर्शन भएका फिल्मले ४२ विधामा प्रतिस्पर्धा गर्नेछन् । अमेरिकी संस्करणका लागि फेम नेपालसहित युएस खबर र फेम नेपालले पनि सहकार्य गर्दैछन् ।

Ads

सम्बन्धित पोष्टहरू