Ads

युट्युब ट्रेन्डिङको एक नम्बरमा प्रकाश सपूतको ‘दमाई महाराज’ (भिडिओसहित)


काठमाडौं । चर्चित गायक प्रकाश सपुतको नयाँ गीत ‘दमाई महाराज’ सार्वजनिक भएको दुई दिन नपुग्दै युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको छ । यसपालि पनि उनले फरक सामाजिक मुद्दालाई गीत मार्फत प्रस्तुत गर्न खोजेका छन् । ‘दमाई महाराज’मा प्रकाशले जातीय छुवाछूत र विभेदविरुद्धको विषयवस्तु उठाएका छन् । गीत युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा पुगेको छ ।

दमाईको गर्भमा जन्मिएको एउटा बालक मन्दिरमा प्रवेश गर्दा ‘अछुतो’ भयो भन्नेमाथि उनले कटाक्ष गरेका छन् । जन्मको आधारमा कोही सानो, ठूलो हुँदैन, धर्मग्रन्थले कसैमाथि विभेद गर्नु भनेको छैन, मान्छे जन्मले होइन कर्मले कोही श्रेष्ठ वा कोही निच हुन्छ भन्ने सन्देश पस्किएका छन् ।

यसपालि प्रकाशको गीत भजन शैलीमा छ । प्रकाशकै शब्द र संगीत रहेको गीतमा  प्रकाशलाई शान्तिश्री परियारले साथ दिएकी छिन् । सुदीप सागरले संगीत संयोजन गरेका छन् ।

‘दमाई महाराज’को म्युजिक भिडियोको कथा र निर्देशन प्रकाश सपूतले गरेका हुन् । भिडियोमा प्रकाशसँगै अञ्जली अधिकारी, गीता ढुंगाना, गरिमा शर्मा, प्रभात ठकुरी लगायतको अभिनय छ । भिडियोलाई मिलनकृष्ण महर्जन र दिनेश पराजुलीले खिचेका हुन् ।  भिडियो उनले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका छन् ।

 

Ads

सम्बन्धित पोष्टहरू