काठमाडौँ । कर्णराज गिरी रियालिटी शो ‘भ्वाइस अफ नेपाल’मा सहभागी भएपछि गायन क्षेत्रमा सक्रिय हुन थालेका छन् । कुनै समय ट्याक्सी चालक बनेर गायनलाई सपनामा मात्रै बाच्नु भएका गिरी पछिल्लो समय मेला/महोत्सवमा समेत पुग्छन । सङ्गीत सिर्जना, शब्द रचना र गायनमा सक्रिय गिरी यस क्षेत्रमा उदाउँदै गरेको नाम हो । भ्वाइस अफ नेपालको मञ्चबाट उनले साङ्गीतिक यात्रा सुरु गरेका थिए ।
“एक दशकको सङ्घर्ष पश्चात गायनका विभिन्न विधामा काम गर्न सफल भएको छु”,उनले भने , “परिवारमा साइला दाइ बाहेक अन्यको सङ्गीतसँग नाता जोडिएको थिएन् । आफ्नै सङ्घर्षले यहाँसम्म आउन सफल भएको छु ।”बाल्यकालमा रेडियो नेपाल सुन्दै ‘जति चोट दिन्छौँ देउ मायालु’, ‘हजार आँखा हेर्ने’, ‘पर्खी बसे’ लगायत गीत गुनगुनाउने र अभ्यास गर्ने गरेको गिरीले अनुभव सुनाए ।
सर्लाहीबाट काठमाडौँ आएर सङ्गीतको प्रशिक्षणपछि गायनमा सक्रिय हुनुभएका गिरीले आफ्नो सफलता आमासँग साट्न पाएनन । “भ्वाइसको उत्कृष्ट नौमा हुँदा नै आमाको देहान्त भयो । उनले बाख्रा बेचेर पठाउनु भएको केही रकम लिएर काठमाडौँमा सङ्गीतको विद्यार्थी बनेको थिएँ”, गायक गिरीले भने , “पेटका लागि गर्नुपरेको सङ्घर्ष र भोग्नुपरेको सास्तीबाट मुक्त भए पनि साङ्गीतिक क्षेत्रमा भने सङ्घर्ष छँदैछ ।”
उनका सुन माकुरी, ह्याङ्ग बनायौँ, भाइरल भयो रे, तिम्रो आँखा गाजलु, गोरू झालेमालेलगायत गीत चर्चित छन् । पछिल्लो समय सार्वजनिक भएको ‘लुकी लुकी’ युट्युबमा दश लाख बढी पटक हेरिसकिएको छ । सर्जकका लागि हरेक गीत सिर्जना गर्दा उस्तै मेहनत लाग्ने गायक गिरीको बुझाइ छ । “पछिल्लो गीतको सफलताले गायकको सम्पूर्ण सफलता निर्धारण गर्दैन्, हरेक पटकको सिर्जनाका लागि समान मेहनत आवश्यक पर्छ”, उनले भने , “त्यसैले हामीले गर्ने मेहनतमा कुनै कसर बाँकी राख्दैनौँ ।”
शास्त्रीय गायनका विद्यार्थी रहेका गिरी आजभोली मेला/महोत्सवलाई लक्षित गर्दै नृत्य गर्ने किसिमका गीतको सिर्जनामा पनि सक्रिय छन् । “सबै किसिमको गीत गर्नुपर्छ भन्ने लागेर गायनसँगै नाच्ने गीत सिर्जना गरिरहेको छु”, गायक गिरीले भने , “यसले आफुलाई हरेक विधामा परिक्षण पनि गर्दछ ।” एक दशकको सङ्घर्षपछि उनले आफ्नो साङ्गीतिक सपनामा ‘उडान’ भर्न थालेका छन् ।
प्रतिक्रिया दिनुहोस्