काठमाडौ\ पूर्वराजपरिवारका सदस्यहरुको गतिविधि प्रति विभिन्न राजनीतिक दल र नेताहरुले प्रश्न उठाई रहेका बेला सक्रियता भने झनै बढेको छ । पछिल्लो पटक पूर्वराजा ज्ञानेन्द्र शाहा मुसहर बस्ती पुगे भने पूर्वयुवराज्ञी विभिन्न मन्दिरहरुको दर्शनमा पुगेकी छन् ।
यसै क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहले जीतपुरसिमरा उपमहानगर ६ स्थित मुसहर बस्ती पुगेर अनुगमन गरेका छन् । करिब दुई सातादेखि सिमरामा रहेका पूर्वराजा शाह परिवारका सदस्यसहित आज मुसहर बस्तीमा पुगेका हुन् । प्रभुशमशेर जबरा तथा राजी राणा परोपकार निजी गुठीले गत असोज १२ गते मुसहर समुदायका २० परिवारलाई उक्त बस्ती हस्तान्तरण गरेको थियो । पूर्वराजपरिवार भित्रका सदस्यले निर्माण गरी हस्तान्तरण गरेको बस्ती अवलोकन गर्न पूर्वराजा पुगेका हुन् ।
पूर्वराजा ज्ञानेन्द्रसँग पत्नी कोमल, छोरी प्रेरणालगायत पूर्वराजपरिवारका सदस्य सहभागी थिए । बस्तीमा निर्माण भएको घरभित्र पसेर पूर्वराजदम्पतीले मुसहर समुदायका नागरिकसँग भलाकुसारी गरेका थिए । बस्तीमा एक घण्टा बिताएका उनीहरूले चिया समेत पिएका थिए । पूर्वराजपरिवारको स्वागतमा मुसहर समुदायका युवायुवतीले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । यसअघि पूर्वराजदम्पतीलाई बस्तीमा बसोबास गर्ने २० वटै घरका परिवारका सदस्यले स्वागत गरेका थिए ।
काभ्रेमा हिमानी
पूर्व युवराज्ञी एवम् हिमानी ट्रष्टकी अध्यक्ष हिमानी शाहले शनिबार काभ्रेपलाञ्चोकमा रहेका दुई मन्दिरमा विशेष पूजाअर्चना गरेकी छन् । हिमानीले शनिबार बनेपा नगरपालिका–५ स्थित चण्डेश्वरी भगवती र पनौती नगरपालिका –५ धनेश्वरमा रहेको धनेश्वर महादेवको विशेष पूजा अर्चना गरेकी हुन् ।
विशेष पूजा अर्चनाका लागि काभ्रेपलाञ्चोक पुगेकी पूर्व युवराज्ञी शाहलाई उनका समर्थकले भक्तपुर र काभ्रेपलाञ्चोकको सिमाना साँगा भन्ज्याङबाट मोटरसाइकल र्यालीसहित स्वागत गरेका थिए ।
धनेश्वर महादेवको पूजा सकेपछि उनले मन्दिर नजिकै रहेको धनेश्वर आधारभूत विद्यालयका लागि हिमानी ट्रष्टको तर्फबाट विभिन्न शैक्षिक सामग्री हस्तान्तरण गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्