Ads

पत्रकार महिलाहरुमा व्यवसायिक क्षमता बढाउन निरन्तर प्रयास


तालिममा सहभागी पत्रकार महिलाहरुलाई सम्बोधन गर्दै प्रदेश प्रमुख अमीक शेरचनले पत्रकार देशको सम्मानित पेशा भएकाले यसमा स्थापित हुनु गौरवको विषय भएको बताए ।

बुटवल । संचारमाध्ययममा पत्रकार महिलाहरुको संख्या बढ्दै गएको छ । फिल्डमा समाचार संकलन गर्ने संवाददातादेखि समाचार डेक्स हुदै सम्पादकसम्म पत्रकार महिलाहरु छन् । संचारमा आफ्नो करियर बनाइरहेका पत्रकार महिलाहरुमा व्यवसायिक क्षमता बढाउने उद्धेश्यले बुटवलमा लैंगिकमैत्री समाचार संप्रेषण सम्बन्धी तालिम सम्पन्न भएको छ ।
संचारिका समूह लुम्बिनी प्रदेश र कानुन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले तालिमको आयोजना गरेका हुन् । तालिममा लुम्बिनी प्रदेशको साविक लुम्बिनी अन्चलका ६ जिल्लाका ५ दर्जन बढी पत्रकार महिलाहरु सहभागी भए । शुक्रबार र शनिबार २ दिनसम्म संचालन भएको तालिममा विभिन्न विषयविज्ञहरुले सहजीकरण गरेका थिए । साथै विभिन्न विशिष्ट व्यक्तित्वहरुले हौसला प्रदान गरेका थिए ।
तालिममा सहभागी पत्रकार महिलाहरुलाई सम्बोधन गर्दै प्रदेश प्रमुख अमीक शेरचनले पत्रकार देशको सम्मानित पेशा भएकाले यसमा स्थापित हुनु गौरवको विषय भएको बताए । उनले पेशामा स्थापित हुन पत्रकार महिलाहरुले पनि सीप र क्षमता बढाउदै जानु पर्ने सुझाब दिए । पत्रकार महिलाले फरक खालका समस्या भोग्नुपर्ने र व्यवसायमा निरन्तरता दिन समस्या पर्ने भएकाले उनीहरुको सीप र क्षमता विकासमा राज्यले समेत लगानी गर्नुपर्ने उनले जनाए ।
प्रदेश कानुन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्तीले सामाजिक न्याय, लैंगिक र महिलामैत्री समाज निर्माणका लागि संचारमा महिलाको दरिलो उपस्थिति हुनुपर्ने बताइन् । संचारमाध्ययममा महिला भएभने मात्रै आवाजविहीनहरुको आवाज उठाउन र महिलाहरुका आवाज बुलन्द पार्न सजिलो हुने सुझाब दिइन् ।
उपसभामुख कृष्णी थारुले यो वा त्यो ढंगमा पछिल्लो समय संविधानले महिलालाई दिएको अधिकार समेत खोस्ने काम भएको बताउदै त्यसका विरुद्ध आवाज उठाउन आग्रह गरिन् । गठबन्दनका नाममा स्थानीय तहमा प्रमुख र उपप्रमुखमध्ये एक महिला हुने अवसर खोसिन लागेको बताउदै उहाले यस्तो हुन नदिन पत्रकारहरुले भूमिका खेल्नुपर्ने बताइन् ।
कानुन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव राजेन्द्र थापाले प्रदेश सरकारले ल्याएका लैंगिकमैत्री नीति तथा कार्यक्रमबारे जानकारी गराए ।
तालिम सहजीकरण गर्दै वरीष्ठ पत्रकार संचारिका समुह नेपालका पूर्व अध्यक्ष बबिता बस्नेतले लैंगिकमैत्री समाचार, त्यसको उठान, स्रोत पहिचान, व्यवसायिक सीप विकास, स्थानीय तहको निर्वाचन र महिलाका समाचार विषयमा सहजीकरण गरिन् ।
पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष शेरबहादुर केसीले प्रदेश सरकार, तिनका संरचना र कार्यक्रमबारे कसरी समाचार बनाउन सकिन्छ भन्नेबारेमा सहजीकरण गरे । पत्रकार इन्दिरा अर्यालले रेडियोमा लैंगिकताको विषय र त्यसको उठानबारे सहजीकरण गरिन् ।

स्वास्थ्य निर्देशनालयका फोकल पसर्न कौशलराज भण्डारीले प्रजजन स्वाथ्य, परिवार योजना र सुरक्षीत मातृत्वबारेमा सहजीकरण गरे । संचारिका समूह नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष अमृता अनमोलले लैंगिकमैत्री समाचार र त्यसको उठानबारे अभ्यास गराइन् ।

 

Ads

सम्बन्धित पोष्टहरू