नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मामिलामा पक्राउ परेपछि पार्टीले आज आकस्मिक रूपमा दुई महत्त्वपूर्ण बैठकहरू बोलाएको छ।
प्रहरीले उपाध्यक्ष पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरेको भोलिपल्टै एमालेले रणनीति तय गर्न संसदीय दल र केन्द्रीय सचिवालयको बैठक आह्वान गरेको हो। जसअनुसार एमाले संसदीय दलको बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने तय भएको छ।
त्यस्तै, विकसित राजनीतिक घटनाक्रम र पार्टीको आगामी कदमबारे छलफल गर्न आजै साँझ ६ बजे एमालेले केन्द्रीय सचिवालयको बैठक समेत बोलाएको छ, जुन बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास गुण्डुमा बस्नेछ। एमालेका प्रभावशाली नेता पौडेल पार्टीको आन्तरिक सांगठनिक कार्यक्रमका सिलसिलामा सुर्खेत पुगेका बेला त्यहाँबाट पक्राउ परेपछि एमाले वृत्तमा ठूलो हलचल पैदा भएको छ र यी दुवै बैठकलाई निकै चासोका साथ हेरिएको छ।
प्रतिक्रिया दिनुहोस्