Ads

कहाँ हरायो अनुदानको त्यति धेरै नुन ?


मुगु । सरकारले मुगुमा बिक्री वितरणका लागि अनुदानमा उपलब्ध गराएको नुन जिल्ला सदरमुकाम गमगढी बजारबाट हराएको छ । छायाँनाथ रारा एयर कार्गो ढुवानी सेवाले ढुवानी जिम्मा लिएको १ सय ५९ क्विन्टल नुन सदरमुकाम गमगढीबाट हराएको हो ।

ढुवानी सेवाका सञ्चालक रामचन्द्र भामले साल्ट ट्रेडिङ कर्पोरेसन कार्यालय शाखा मुगु र आफ्नो सम्झौताअनुसार गत आर्थिक बर्ष २०७८–७९ का लागि पहिलो र दोस्रो चरण गरी कुल दुई हजार सातसय क्वीन्टल नुन नेपालगन्जदेखि मुगु सदरमुकाम गमगढीको ढुवानी गरेर साल्ट ट्रेडिङ कर्पोरेसन कार्यालयलाई बुझाएको दावी गर्नुभएको छ ।

भामले साल्ट ट्रेडिङ मुगु कार्यालय प्रमुख खगेन्द्र कार्कीले नुन नआइपुगेको भन्दै मौज्दात नदेखाइ एकसय ५९ क्विन्टल नुन बिक्री गरी रकम हिनामिना गरेको आरोप लगाउनुभयो । भामले भन्नुभयो, ‘मेरो कर्मचारीसँग उक्त नुन बुझेको भर्पाइ एक दुई दिनपछि छाप लगाएर बुझाइदिन्छु भन्ने फोनबाट सर्त भएपछि पुनः उक्त बिललाई वास्ता गरिनँ ।’ केही समय सो बिललगायत थप ढुवानी गरेको बिलको रकम भुक्तानी लिनजाँदा उक्त बिलमा ढुवानी गरेको नुन नआएको हो भन्दै भुक्तानी दिनबाट रोकिएको उहाँको भनाइ छ ।

सञ्चालक भामले तीन सय २० बोरा (एक सय ५९) क्विन्टल नुन साल्ट ट्रेडिङ कर्पोरेसन कार्यालय बाँकेको बिल नं– २०८ मार्फत गत मंसिर १२ गते नुन खरिद भएको बताउनुभयो । उक्त नुन लोड गरेको गाडी नं– भे १ ख ३६९० मंसिर १२ गते मुगु र जुम्लाको सिमाना क्षेत्रमा पर्ने बुल्बुलेको आर्मी चेकपोष्टमा ३३ नं मा मुगु सदरमुकाम गमगढीमा जाँदैगरेको दर्ता भएको पाइएको छ ।

मंसिर १३ गतेको मध्यान्ह साल्ट ट्रेडिङ कर्पोरेसन कार्यालय मुगुका प्रमुख कार्कीका श्रीमती बिद्या मल्ल कार्कीले जिल्ला प्रशासन कार्यालयको रोहवरमा नुन बुझेको भामले बताउनुभयो । उहाँका अनुसार बिगतका दिनमा पनि कार्यालय प्रमुखका श्रीमतीले नै नुन बुझ्दै आउनुभएको थियो ।

यता मुगुका लागि ढुवानी गर्दैआएको सिद्धार्थ ढुवानी सेवाका कर्मचारी भक्त बुढाका अनुसार सदरमुकाम गमगढीबाट सोरु गाउँपालिका १० को धैनकोटमा गत बर्षको मंसिर पुस महिनामा एक सय ७० क्विन्टल ढुवानी गरेको नुन खानयोग्य नभएको वडा अध्यक्ष कुलचन्द्र जैशीले प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराउनुभएको थियो । सोपछि प्रशासन कार्यालयको उपस्थितिमा सो नुन खाडलमा पुर्न लगाइएको थियो ।

बुढाले उक्त ढुवानी गरेको नुनको रकम अहिलेसम्म पाउन नसकेको गुनासो गर्नुभयो । यता साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय मुगुका कार्यालय प्रमुख खगेन्द्र कार्कीसँग सम्पर्क गर्नखोज्दा उहाँसँग सम्पर्क हुन सकेन ।

प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले कर्णालीमा अनुदानका लागि ढुवानी गर्दैआएको नुन र चामलको बिषयमा आफू पूर्ण रुपमा जानकार भएकाले निज फर्मले एक सय ५९ क्विन्टल नुन ढुवानी नगरेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारीको भनाइअनुसार मौज्दात अभिलेखमा नभेटेपछि नुन गोदाममा कति नुन मौज्दात छ भनेर पुनः गणना गर्न लगाउँदा गोदाममा नुन भेटिएन ।

उहाँका अनुसार कर्णालीमा अनुदानका लागि ढुवानी गर्दैआएका ढुवानी सेवाले सम्बन्धित ठाउँमा ढुवानी नगरी बाटोमै नुन बिक्री गर्नेगरेको छ । उहाँले भन्नुभयो, ‘यस्ता वेथिति धेरै छन् सो ढुवानीले पनि तेस्तो बेथिति गरेको हुन सक्छ ।’

उक्त ढुवानीले बाँकेको साल्ट ट्रेडिङ कर्पोरेसन कार्यालयदेखि मुगुको सदरमुकाम गमगढी सम्म नुन प्रतिकेजी नौं रुपियाँमा ढुवानी हुनेगर्छ । कुल १८ रुपियाँमा मुगुको सदरमुकाम गमगढीसम्म आइपुग्ने उहाँले जानकारी दिनुभयो ।

कर्णालीका दुर्गम क्षेत्रका लागि राज्यले सहुलियत ढुवानी व्यबस्था गरेको छ । यहाँका नागरिकले नुन खरिदमा प्रतिकेजी नौं रुपियाँमा उपलब्ध गराउने व्यबस्था रहेको उहाँले बताउनुभयो । रारा नगरपालिका ३ का रामबहादुर रोकायाले आफूहरु प्रतिकेजी १० रुपियाँ र बोराको ५० रुपियाँमा नुन खरिद गर्दैआएको बताउनुभयो । उहाँका अनुसार यहाँ हप्ताको दुई दिन मात्र नुन बिक्री बितरण हुन्छ । त्यसैले यहाँका नागरिक मारमा परेका छन् । हरेक दिन नुन बिक्री वितरणको माग पनि स्थानीयले गरेका छन् ।

(याे समाचार गाेरखापत्र अनलाइनमा छापिएकाे छ । )

Ads

सम्बन्धित पोष्टहरू